विराटनगरको बजार क्षेत्रमा बढ्यो चहलपहल : तर बढेन व्यापार

मोहन ढकाल

विराटनगर, २५ भदौ । लकडाउन र निषेधाज्ञा खुलेसँगै विराटनगर बजार क्षेत्रमा चहलपहल सुरु हुन थालेको छ । चहलपहल सुरु भएसँगै छ महिनासम्म लकडाउन र निषेधाज्ञा झेलेका साना तथा मझौला व्यवसायीले केही राहतको महसुस गर्न थालेका छन् ।

विराटनगरमा चस्मा व्यवसाय गर्दै आएका आरिफ इराकी छ महिनापछि दिनभरि पसल खोल्न पाएकोमा खुसी छन् । तर व्यापार भने सोचेजस्तो भएको छैन । ‘व्यापार व्यवसाय धरापमा परेको थियो,’ उनले भने, ‘७ बजेसम्म पसल खोल्न पाउँदा केही राहतको महसुस भएको छ ।’

पसलमा ग्राहक पनि आउन थालेको उनले बताए । ‘पसलमा फाट्टफुट्ट ग्राहक आउन थालेका छन् तर विराटनगरभन्दा बाहिरका छैनन्,’ उनले भने, ‘व्यापार ७० प्रतिशत कम भएको छ ।’ छ महिना दुःख झेलका उनी फेरि लकडाउन हुने हो कि भन्ने चिन्तामा छन् ।

विराटनगरको रंगेली रोडमा जुत्ता चप्पलको व्यवसाय गर्दै आएका तौकिर अनवरले पनि केही सहजता भएको बताएका छन् । बजार खुलेपछि केही सहज भए पनि खासै ग्राहक नआएको उनले बताए । ‘दिनभरिमा दुई–चारजनासम्म ग्राहक आउँछन्,’ उनले भने, ‘अब व्यापार बढ्ने आशा छ ।’

जुत्ताचप्पल र कपडाको व्यवसाय गर्दै आएका महम्मद गुलाब शेखको भोगाइ पनि उस्तै छ । पहिलोपटक लकडाउन खुलेपछि व्यापार राम्रै भएको थियो,’ उनले भने, ‘फेरि निषेधाज्ञा भएर बजार पसल खुले, ग्राहक थोरै मात्र छन् ।’

विराटनगर बाहिरका ग्राहक बढी आउने भएकाले पनि व्यापार कम भएको उनले बताए । पहिलाको तुलनामा ७० प्रतिशतभन्दा बढी व्यापार खस्किएकोे उनले बताए ।

चस्मा व्यवसाय सञ्चालन गर्दै आएका मोहम्मद सादिक बजार खुले पनि व्यापार पहिलेजस्तो नभएको बताउँछन् । पसल खोल्न पाउँदा सहज भएको बताउँदै उनले भने, ‘फेरि लकडाउन नहोस् ।’

समुदायस्तरमा कोरोना संक्रमण देखिएको विराटनगरमा लकडाउन खुलेसँगै सर्वसाधारणको चहलपहल बढेको छ । तर संक्रमणको जोखिम भने तीव्र छ । लकडाउनपछि खुलेका बजार पसलले पनि सुरक्षा सावधानी अपनाएका छैनन् ।

Loading...