पाइपलाइनको एक वर्षको अवधिमा ५३ करोड डिजेल आयात

काठमाडाैं, २४ भदाै । नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करिब ५३ करोड लिटर डिजेल आयात गरेको छ ।

२४ भदाै २०७६ मा दक्षिण एशियाकै प्रथम अन्तर्देशीय पेट्रोलियम पाइपलाइनका रूपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ ।

पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएका अवसरमा बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले प्रदेश नम्बर २ को अमलेखगञ्जमा निरन्तर रूपमा डिजेल आयात भइरहेको जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडामा उल्लेख्य बचत भएको र पेट्रोलियम पर्दाथको गुणस्तर सुनिश्चित भएको छ ।

उनका अनुसार भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर रु एक र ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ । वर्षमा करिब रु ८० करोड २६ लाख ढुवानीमा रकम बचत भएको जनाइएको छ ।

चालु आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रमअनुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजनाअनुसार काम अगाडि बढाइएको निगमले जनाएको छ । रासस

Loading...