बेलायतमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

एजेन्सी, २४ भदाै । बेलायतमा पछिल्ला केही सातायता कोभिड-१९का संक्रमितहरूको संख्या बढ्न थालेको बताइएको छ ।

बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ४२० जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका बताइएको छ ।

बेलायतमा कोरोनाका संक्रमितहरू पछिल्ला केही दिनयता बढी मात्रामा देखिन थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

पछिल्ला केही हप्तामा ठूलो संख्यामा नयाँ संक्रमितहरू थपिएका र आजसम्म यहाँका संक्रमितहरूको संख्या ३ लाख ५२ हजार ५२० जना पुगेको छ ।

यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५८४ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकोकले मंगलबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक भएको बताएका छन् ।

लन्डनमा कोभिड-१९को अवस्था सामान्यजस्तो देखिएकोले बेलायतमा जनजीवनलाई पनि सामान्य बनाइएको थियो ।

गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए ।

बेलायतमा कोभिड १९ को महामारी फेरि बढ्न सक्ने खतरा देखिएको उनले बताए । यहाँ सोमबार र आइतबार २ हजार ९०० भन्दा बढी संक्रमित थपिएका थिए । रासस

Loading...