Rumpum Advertisement

मोरङमा दुई हजार नाघे संक्रमित, २४ जनाको मृत्यु

मोरङमा दुई हजार नाघे संक्रमित, २४ जनाको मृत्यु

विराटनगर, २४ भदौ । मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । बुधबार थप ८० जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारसम्म मोरङमा संक्रमितको संख्या २ हजार ४६ छ । संक्रमण पुष्टि भएकामध्ये २४ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये ६ महिला र १८ जना पुरुष छन् ।

प्रदेश १ मा संक्रमितको संख्या ४ हजार ४१२ छ । प्रदेशमा मृत्यु हुनेको संख्या ४३ छ ।

मोरङमा संक्रमण पुष्टि भएका मध्ये अधिकांश विराटनगर महानगरपालिकाका हुन् । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार मोरङपछि सुनसरीमा संक्रमितको संख्या ११ सय ५३ छ । झापामा ७०५, उदयपुरमा १२० जना संक्रमित छन् । ताप्लेजुङमा १३, पाँचथरमा २३, इलाममा ८९, धनकुटामा ४६, तेह्रथुममा २८, संखुवासभामा ४०, खोटाङमा २२, भोजपुरमा १८, सोलुखुम्बुमा ८ ओखलढुंगामा २४ र प्रदेश १ बाहिरका ७७ जना छन् ।

संक्रमितमध्ये १ हजार ९ सय ४८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा मोरङका मात्रै ७९४ जना छन् । मोरङमा सक्रिय संक्रमितको संख्या १ हजार २२८ छ । सुनसरीमा ८११ र झापामा २३९ सक्रिय संक्रमित छन् ।