Rumpum

Rumpum Advertisement

रोनाल्डोलाई पेलेको बधाई

रोनाल्डोलाई पेलेको बधाई

एजेन्सी, २४ भदौ । ब्राजिलियन लिजेण्ड पेलेले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् । पोर्चुगलबाट १०१औं गोल गरेपछि पेलेले सामाजिक सञ्जाल ट्वीटरमार्फत रोनाल्डोलाई बधाई दिएका हुन् ।

मंगलबार राति यूईएफए नेशन्स लिगअन्तर्गत स्वीडेनसँगको खेलमा दुई गोल गरेका रोनाल्डोले करिअरको १०१औं अन्तर्राष्ट्रिय गोल पूरा गरे । फ्रेन्ड्स एरिनामा भएको खेलमा साविकको विजेता पोर्चुगललाई जिताउन कप्तान रोनाल्डोले खेलको ४५औं मिनेटमा फ्रिकिकमा र खेलको ७२औं मिनेटमा जाओ फेलिक्सको पासमा गोल गरे ।

यससँगै रोनाल्डो राष्ट्रिय टोलीबाट १०१ गोल गर्ने पहिलो युरोपियन खेलाडीसमेत बने । ३५ वर्षीय रोनाल्डो १६५औं खेलबाट १०१ गोल गरे ।

अब उनलाई राष्ट्रिय टोलीबाट सर्वाधिक धेरै गोल गर्ने इरानका अलि डेइलको कीर्तिमान तोड्न मात्र ९ गोलको खाँचो छ । युरो कप र नेशन्स लिग गरी दुई उपाधि जितेका रोनाल्डोले पोर्चुगलबाट ४० असिस्ट पनि गरेका छन् ।

यस्तैमा तीन पटकका विश्वकप विजेता पेलेले रोनाल्डोलाई बधाइ दिए । ‘मैले सोचेको थिएँ कि हामी आज सयौं गोलको उत्सव मनाउने छौं । तर, वास्तवमा १०१ गोल भयो । बधाई छ रोनाल्डो, तिमी आफ्नो यात्राको नयाँ उचाइमा पुग्यौ,’ पेलेले ट्वीटरमा लेखेका छन् ।