रोनाल्ड कोइम्यानसँग सामूहिक प्रशिक्षणमा फर्किए मेस्सी

एजेन्सी, २४ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सी नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यान नेतृत्त्वको टोलीको प्रशिक्षणमा फर्किएका छन् । अर्जेन्टिनी स्टार मेस्सीले बुधबारबाट सामूहिक प्रशिक्षण थालेको स्पेनिस मिडियाले जनाएका छन् ।

आइतबार कोरोना परीक्षण गराइ सोमबार र मंगलबार व्यक्तिगत रूपमा प्रशिक्षण गरेका ३३ वर्षीय मेस्सीले आजबाट भने सामूहिक प्रशिक्षण सुरु गरेका हुन् । उनले कोइम्यानसँग पहिलोपटक प्रशिक्षणमा भेट गरेका हुन् । यसअघि यी दुईबीच भेटवार्ता भएको थियो, जसमा मेस्सीले क्लब छोड्ने मनसाय व्यक्त गरेका थिए ।

लगातार केही दिन क्लब छोड्ने विषयमा चर्चामा रहेका मेस्सीले अन्ततः क्याप नोउमै बस्ने निर्णय गरे । र, उनी पुनः प्रि–सिजनको तयारीमा रहेको बार्सिलोनाको प्रशिक्षणमा फर्किएका हुन् ।

बार्सिलोनाले शनिबार राति प्रि–सिजअन्तर्गत जिम्नास्टिक डी टारागोनासँग खेल्दैछ । ला लिगाको तयारीका रूपमा हुने यो खेल जोहान क्रुप स्टेडियममा हुनेछ । त्यसपछि जिरोनासँग मैत्रीपूर्ण खेल खेलेपछि बार्सिलोनाले ला लिगाको तयारीमा जुट्नेछ ।

नयाँ सिजनको ला लिगामा बार्सिलोनाले पहिलो प्रतिद्वन्द्वीका रूपमा भिल्लारियललाई पाएको छ । २७ अगस्टमा यो खेल खेल्दै बार्सिलोनाले ला लिगाको थालनी गर्नेछ ।

Loading...