सन्दीपको बलिङ वरीयता खस्कियो

विराटनगर, २४ भदाै । नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेको बलिङ वरीयता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी-२० बलिङ वरीयतामा सन्दीप एक स्थान खस्किएका हुन् । यसअघि उनी ७९औं स्थानमा रहेका थिए ।

नयाँ वरीयतामा सन्दीप ८०औं स्थानमा छन् ।सन्दीपले कूल ३ सय ८९ रेटिङ अंक पाएका छन् ।

हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा उनले ११ खेलमा १२ विकेट लिएका थिए ।

यस्तै विश्व बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान र मुजिब उर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । दुवै जना हाल सीपीएल खेलिरहेका छन् ।

सीपीएलमा राशिदले बार्बाडोसबाट तथा मुजिब उरले जमैकाबाट खेलेका थिए ।

यस्तै आईसीसीको बलिङ वरीयतामा अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो तथा अष्ट्रेलियाकै एडम जाम्पा पाँचौं स्थानमा रहेका छन् ।

यसैगरी आईसीसीले जारी गरेको ब्याटिङ वरीयतामा नेपालका पूर्वकप्तान पारस खड्का ७०औं स्थानमा रहेका छन् ।

उनको ४०० रेटिङ अङक छ ।

इंग्ल्यान्डका डाविड मालन टी २० ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहेका छन् । पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा रहेका छन् ।

यस्तै टी २० वरीयतामा नेपाल १५औँ स्थानमा यथावत छ । यसअघि नेपाल विश्व बलिङ वरीयतामा ११औँ स्थानसम्म पुगिसकेको छ ।

शीर्ष वरीयतामा भने अस्ट्रेलिया छ । वरीयतामा इङ्ल्याण्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।

Loading...