कोरोना नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाइँदै छ : मन्त्री ढकाल

कोरोना नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाइँदै छ : मन्त्री ढकाल

काठमाडाैं, २४ भदाै । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको (दक्षिणपूर्वी एशिया) ७३ औँ बैठकलाई बुधबार भर्चुअल सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

बढी जनघनत्व भएका प्रमुख शहरमा कोभिड–१९ को बढी प्रभाव परेको भन्दै त्यस्ता क्षेत्रमा पिसीआर परीक्षण, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर सुदृढ गरिएको उनले बताए ।

मन्त्री ढकालले भूकम्प र तत्पश्चात थुप्रै स–साना स्वास्थ्य आपत्कालीन अवस्थाहरूको प्रतिकार्यका सिकाइ गर्दा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रहरूको स्थापना, आपत्कालीन औषधि विकास समूह (इमर्जेन्सी मेडिकल डेभलपमेण्ट टिम), हब अस्पताल सञ्जालको विस्तार कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि तयारी र प्रतिकार्यको क्षमता अभिवृद्धिमा मद्दत पुगेको बताए ।

उनले भने, “कोभिड–१९ महामारी अन्य स्वास्थ्य आपतकालभन्दा नितान्त भिन्न भए पनि आधारभूत व्यवस्थाले हामीलाई स्थापित संयन्त्रलाई थप सवल बनाउँदै द्रुतगतिमा कार्यान्वयन गर्न मद्दत गरेको छ । यस महामारीका बेला स्वास्थ्य सेवाहरू केही हदसम्म प्रभावित भएको भए तापनि नेपालले अत्यावश्यक स्वास्थ्य सेवा र प्राथमिकता प्राप्त जनस्वास्थ्यका कार्यक्रमहरूको निरन्तरता सुनिश्चित गर्न धेरै पहल गरेको छ ।”

उनले नेपालले बन्दाबन्दीको सुरुआती चरणदेखि नै सबै स्वास्थ्य संस्थाहरुलाई निरन्तर खोली र सेवा दिने कुराको सुनिश्चितता गरेको बताए ।

मन्त्री ढकालले डब्लुएचओका कर्मचारीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै अत्यावश्यक सेवा र जनस्वास्थ्यका गतिविधिहरूको निरन्तरताका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले महामारीमा अत्यावश्यक सेवाको सुनिश्चितता चुनौतीपूर्ण हुन जाने भन्दै र यस चुनौतीको निवारणका लगि टेलिमेडिसिन, कल सेन्टरजस्ता वैकल्पिक सेवा प्रवाह गर्ने संयन्त्रहरू स्वास्थ्य प्रणालीको सुधारका अभिन्न अङ्ग बन्नुपर्ने बताए ।

विभिन्न बाधा, व्यवधानका बाबजुद नेपालले दादुरा तथा रूवेला खोपको राष्ट्रिय अभियान र १९ जिल्लामा पोलियो भ्याक्सिन अभियान सफलतापूर्वक सञ्चालन गरेको स्पष्ट गर्दै मन्त्री ढकालले सो क्षेत्रीय समितिले खोपलगायत जेनेरिक औषधिको विश्वव्यापी आपूर्तिमा विशेष भूमिका खेल्ने भएकाले यस क्षेत्रका सदस्य राष्ट्रहरू र स्वास्थ्य समुदायले आआफ्ना कार्यलाई थप बढावा दिई कोभिड–१९ को नियन्त्रणका लागि चाँडै नै खोपलगायत अन्य प्रविधिगत समाधान पहिल्याउन सकोस् भन्ने कामनासमेत व्यक्त गरे ।

उनले क्षेत्रीय एकतालाई निरन्तर कायम गर्दै यसलाई एक नयाँ उचाइमा पुर्‍याई विश्वलाई कोभिड–१९ महामारीविरूद्ध लड्न एक अनुकरणीय उदाहरण स्थापित गर्न सक्नुपर्ने बताए ।

“यो क्षेत्र आयुर्वेद र अन्य वैकल्पिक चिकित्साका क्षेत्रमा निकै नै धनी भएका कारण हामीले सम्भावित समाधान तथा क्षेत्रहरूको पहिचान गरी यस रोगका विरूद्ध सहकार्य गर्न जरूरी छ । यसका लागि उपयुक्त अनुसन्धान तथा अभिलेखीकरण गर्नु उपयुक्त हुनेछ र जहाँ यस क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्नेछ,” उनले भने ।

मन्त्री ढकालले सन् २०१९ मा नेपालले हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएको भन्दै अब क्षयरोग अन्त्य गर्ने अभियानमा रहेको धारणा व्यक्त गरे । रासस