५३ औँ जन्मदिनको अवसरमा अक्षयको ‘बेल बटम’ लुक सार्वजनिक

विराटनगर, २४ भदौ । ९ सेप्टम्बर, बलिउड अभिनेता अक्षय कुमारको आज जन्मदिन रहेको छ ।

अक्षयको ५३ औँ जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘बेल बटम’को नयाँ लुक सार्वजनिक गरिएको छ । फिल्मका निर्माताहरू साथै अक्षय कुमारको बेल बोटम को–स्टारले सोसल मिडियामा जन्मदिनको अवसर पारेर उनको फिल्मको नयाँ तस्बिर साझा गरेका हुन् । सार्वजनिक तस्बिरमा उनी ८० को दशकको अवतारमा देखिएका छन् ।

सन् १९९० देखि आफ्नो अभिनय यात्रा सुरु गरेका अक्षयले आफ्नो करियरमा हालसम्म १०० भन्दा धेरै फिल्ममा काम गरिसकेका छन् । साथै, यस वर्षको फोब्र्सले सर्वाधिक कमाइ गर्ने १० अभिनेताको सूचीमा बलिउडबाट अक्षय कुमार मात्र परेका छन् । फोब्र्सको छैटौं नम्बरमा रहेका अक्षय कुमारले गएको एक वर्षमा ४८.५ मिलियन अमेरिकी डलर अर्थात् भारतीय तीन सय ६२ करोड कमाइ गरेको उल्लेख गरिएको छ ।

पछिल्लो समय उनी स्कटल्यान्डमा छायांकन भइरहेको बेल बटममा व्यस्त छन् । फिल्ममा अक्षयको साथमा बानी कपुर, हुमा कुरेसी, लारा दत्त लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । असीम अरोड़ा र परवीज शेखद्वारा लिखित फिल्ममा अक्षय कुमारको जोडीको भूमिकामा वाणी कपुर रहने छिन् ।

रञ्जित एम तिवारीको निर्देशनमा बन्ने ‘बेलबटम’लाई ज्याकी भगनानी र वासु भगनानीले निर्माण गर्दैछन् । फिल्मलाई २०२१ को २२ जनवरीमा रिलिज गरिने बताइएको छ । कोरोना भाइरसको जोखिममा कारण फिल्म हल बन्द भएपछि अक्षयको ‘सूर्यवंशी’ र लक्ष्मी बम्ब डिजिटल रिलिज हुनसक्ने बताइएको छ ।

Loading...