होम आइसोलेसनमा कसरी बस्ने ?

‘भौतिक दुरी राखौं, भेदभाव अन्त्य गर्ने दायित्व हामी सबैको हो’

डा. नवराज सुब्बा

नेपालमा पनि कोरोना संक्रमणको दर बढ्दै जाँदा बिरामीको संख्या पनि बढ्दै गएको छ । कोरोनाका बिरामी बढेसँगै अस्पतालमा गम्भीर बिरामीहरूको लागि बेड अभाव हुन नदिन सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा बस्न आग्रह गर्दै मापदण्ड जारी गरेको छ ।

गम्भीर लक्षण देखिएका आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितलाई मात्रै अस्पातलमा भर्ना गरिने हुँदा लक्षण नदेखिएका संक्रमित होम आइसोलेसनमा छन् ।

सरकारले होम आइसोलेसनका लागि तयार गरेको मापदण्ड पालना नगरेमा घरबाट परिवार, परिवारबाट समुदायमा कोरोना फैलने जोखिम हुन्छ ।

घरमा बस्दा संक्रमित व्यक्ति र परिवारले सावधानी नअपनाएको खण्डमा परिवारका अन्य सदस्यहरूमा पनि संक्रमण सर्ने जोखिम हुन्छ ।

संक्रमित व्यक्तिलाई सम्भव भएसम्म अलग्गै कोठामा राख्नु पर्छ । यसो गरे परिवारका अन्य सदस्यमा संक्रमण फैलिने जोखिम कम हुन्छ । तर, नेपालको परिवेश अलिक फरक छ । संयुक्त परिवार भएका, कोठा भाडामा बस्नेहरू तथा घरमा एउटै शौचालय हुनेहरूको लागि होम आइसोलेसनमा बस्न निकै गाह्रो हुन्छ ।

अलग्गै कोठा नभएको खण्डमा बस्ने ठाउँ तथा सुत्ने खाटलाई ६ फिटको दुरीमा राख्नु पर्छ । यसरी बस्दा मास्कको प्रयोग अनिवार्यरुपमा गर्नु पर्छ ।

संक्रमित बस्ने कोठामा भेन्टिलेसन वा हावा राम्रो पस्ने हुनुपर्छ, संक्रमित व्यक्ति वा परिवारका अन्य सदस्यले एउटै सामान प्रयोग नगर्ने र प्रयोग गर्नै परेमा संक्रमितले प्रयोग गरेको सामानलाई डिसइन्फेक्ट गरेपछि मात्र प्रयोग गर्नु पर्छ ।

संक्रमितले प्रयोग गरेको भाँडा सफा गर्दैमा भाइरस सर्छ भन्ने हुँदैन । सफा गरेपछि राम्ररी साबुनपानीले हात धुन भने जरूरी हुन्छ ।

संक्रमितले सकेसम्म छुट्टै शौचालय प्रयोग गर्ने र हरेक पटक प्रयोगपछि शौचालयलाई फिनेललगायत अन्य डिसइन्फेक्टले सफा गर्नु पर्छ ।

संक्रमित र घरका अन्य सदस्यले एउटै शौचालय प्रयोग गर्नु परेमा शौचालय सरसफाइमा विषेश ध्यान दिनुपर्छ ।

दिसा गर्नका लागि शौचालय नै जानु पर्छ । तर पटक–पटक पिसाब फेर्न मिल्ने गरी संक्रमितको लागि घरमा ठाउँ भए छुट्टै ठाउँ बनाउन सकिन्छ । यसो गर्दा भाइरस सर्ने सम्भावना कम हुन्छ ।

घरमा ढोकाको ह्यान्डलहरू धेरैले छुने हुँदा पटक–पटक पुछिरहनु पर्छ । सरसफाइमा विशेष ध्यान दिनु पर्छ । पोसिलो खानेकुरा खानु पर्दछ । प्रशस्त तातोपानी पिउने र आत्मवल उच्च बनाउनु पर्छ ।

होम आइसोलेसनमा बस्दा दिनको दुई पटक जोरो नाप्नु पर्छ । १००.४ वा सोभन्दा धेरै ज्वरो आएमा, रुघाखोकी, स्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई जानकारी गराउनु पर्छ ।

कोरोना संक्रमण पुष्टि भएको अवस्थामा समाज र विशेषगरी घरपरिवारमा त्रास सिर्जना हुनु स्वभाविक हो । संक्रमण पुष्टि भएपछि संक्रमितले मास्क लगाइरहनु पर्ने, खोक्दा वा हाच्छिउ गर्दा रुमालको प्रयोग गर्ने, ६ फिटको दुरी कायम राख्ने, साबुनपानीले हात धुने, नियमित सेनिटाइजरको प्रयोग गरी परिवारका सदस्यलाई संक्रमण सर्नबाट जोगाउन सकिन्छ । तर, होम आइसोलेसनमा बस्दा संक्रमितको मात्र नभएर घरपरिवार र छरछिमेकीको पनि भूमिका महत्वपूर्ण हुन्छ ।

संक्रमित भए भन्दैमा भेदभाव गरेर मानसिक दवाव दिनु हुँदैन । एक्लै अलग्गै बस्नु पर्ने, छुन नहुने, छेउमै बस्न नहुनेजस्ता हीन भावनाले मानिसमा तनाव सिर्जना गराउन सक्छ ।

अरुलाई सर्न सक्ने जोखिम हुने र रोग निको नभएसम्मका लागि मात्र छुट्टै बस्नुपर्ने भएकाले नकारात्मक नसोच्नु भनेर सम्झाउन सकिन्छ । आत्मविश्वास बढाउन सकिन्छ ।

छरछिमेकले पनि छिछि-दुरदुर गर्नुभन्दा संक्रमणसँग लड्नका लागि हौसला प्रदान गर्नु पर्छ । सबैले दुव्र्यवहार गर्दा मानिसहरूले रोग लुकाउने, लक्षण नबताउने, परीक्षण नगराउने सम्भावना धेरै हुन्छ, जसले संक्रमणलाई थप भयवाह बनाउन सक्छ । समाजमा संक्रमणलाई रोक्नका लागि सकारात्मक सोच र सतर्कता आवश्यक छ ।

कोरोना भाइरस एक–दुई महिनामात्र नभएर वर्षौसम्म रहने सम्भावना छ । रोग सँगसँगै बाँच्नु पर्ने अवस्था सिर्जना भएको छ । अब आफू सुरक्षित भएर संक्रमितलाई शारीरिक तथा भौतिक दुरीबाट टाढा राखे पनि मानसिकरुपमा भने भेदभाव तथा तनावबाट बचाउनु पर्ने दायित्व तपाईहामी सबैको हो ।

(जनस्वास्थ्यविद् डाक्टर सुब्बासँग अंकिता ताम्राकारले गरेको कुराकानी)

Loading...