स्वारेजको सरुवा प्रक्रिया अन्तिम चरणमा

एजेन्सी, २४ भदौ । उरुग्वेका स्टार फरवार्ड लुइस स्वारेजकाे युभेन्टस सरुवा प्रक्रिया अन्तिम चरणमा पुगेकाे बताइएकाे छ ।

बेलायती मिडिया डेलीमेलका अनुसार बार्सिलोनाका स्टार स्वारेज भित्र्याउन सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टस सहमत भएसँगै उनकाे सरुवा प्रक्रिया अन्तिम चरणमा पुगेकाे हो ।

बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानका कारण उरुग्वेका स्टार स्वारेज क्लब छोड्ने मनसायमा पुगेको बताइन्छ ।

बार्सिलोनाका लागि धेरै गोल गर्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा रहेका स्वारेजले डच प्रशिक्षक कोइम्यानका कारण क्लब छोड्ने मनसाय बनाएको बताइएको छ ।

बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका कोइम्यानले फोन गरेर ६० सेकेण्ड गरेको कुराले स्वारेज निकै विचल्लित भएको बताइएको छ । कोइम्यानले स्वारेजलाई आफ्नो योजनामा नरहेको बताउँदै तत्काल विकल्प खोज्न भनेका थिए ।

स्वारेजले कोइम्यानको मुखबाट निस्किएका शब्दले आफू निकै दुखित भएको बताउँदै विकल्पको खोजीमा लागेको पनि बताएका थिए । खबरका अनुसार ३३ वर्षीय स्ट्राइकर स्वारेज सरुवा प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

स्वारेज पनि युभेन्टस जान सहमत रहेकाे जनाएको छ । बीबीसी स्पोर्ट्सका अनुसार स्वारेज फ्रि–ट्रान्सफरमा इटाली जान सहमत भएका हुन् । स्पेनिस क्लब बार्सिलोनाले रिलिजका लागि सहमति गरे उनी युभेन्टस जाने बीबीसीले उल्लेख गरेको छ ।

यससँगै उनले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँग आगामी सिजनमा एकसाथ खेल्ने सम्भावना बढेको छ ।

स्वारेज र बार्सिलोनाबीचको सम्झौता एक वर्ष बाँकी छ । उनीहरूबीचको सम्झौता ३० जुन २०२१ सम्म छ । सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएयता उनले २८३ खेल खेल्दै १९८ गोल गरेका छन् ।

स्वारेजले बार्सिलोनाबाट चार ला लिगा र एक च्याम्पियन्स लिगसहित १३ ठूला उपाधि जितेका छन् ।

Loading...