Rumpum

Rumpum Advertisement

‘कोभिड मेडिकल संक्रमण मात्रै नभएर सामाजिक चुनौती हो’

‘कोभिड मेडिकल संक्रमण मात्रै नभएर सामाजिक चुनौती हो’

काठमाडौ, २४ भदौ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ । सामाजिक, आर्थिक र शैक्षिक गतिविधिहरु ठप्प छन् । पछिल्लो केही सातायता देशभरि नै संक्रमणको दर बढ्दो क्रममा रहेको छ । सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै जनस्तरबाट तीव्र आलोचनासमेत भइरहेको छ ।

यसैबीच प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति नै गठन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयास, समस्या र समाधानका लागि उपायसहित अनुगमन गरिरहेको छ । उपसमितिले कोरोना रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफलसमेत गरिरहेको छ ।

यसै क्रममा मंगलबार उपसमितिले कोभिड र ननकोभिडका बिरामीहरुलाई सेवा दिइरहेका विभिन्न सरकारी तथा निजी अस्पतालका सरकोकारवालाहरुसँग छलफल गरेको छन् । छलफलमा सहभागी सरकारी तथा निजी अस्पतालका निर्देशक तथा पदाधिकारीहरुले आफ्नो अस्पतालले दिइरहेका सेवा र भोग्नुपरेका समस्याहरु बताएका छन् ।

नेपालमा कोरोना संक्रमण देखिएपछि आफ्नो अस्पतालबाट सम्पादन भएका सेवाहरु, स्वास्थ्यकर्मीहरुले भोगेका समस्याका बारेमा उनीहरुले समितिले जानकारी गराएका छन् ।

छलफलमा कसले के भने ?

केदारप्रसाद सेन्चुरी, निर्देशक, वीर अस्पताल

हामीले सुरुमा गेटमै ज्वरो जाँच गर्ने हेल्प डेस्कको व्यवस्था ग¥यौं । त्यसपछि ज्वरो क्लिनिक, आइसोलेसन वार्ड र अन्य वार्डहरु तोकेर सुरु ग¥यौं । त्योभन्दा अगाडि हामीले विभिन्न उपसमितिहरु बनायौं । जसले गर्दा काम गर्न सहज भयो । ती समितिहरु अहिले पनि सक्रिय छन् । अहिलेको सन्दर्भमा अस्ति भर्खरै भदौ २१ गतेदेखि अस्पताल कोभिड अस्पतालका रुपमा सेवा दिइरहेको छ ।

चार सय ६० बेड रहेकोमा चार सय २२ बेड सञ्चालनमा रहेको छ । र, पुराना स्ट्रक्चरहरु छन् । त्यसैभित्र कोभिड र ननकोभिड दुवैलाई सुरुदेखि नै हामीले छुट्याएर काम गरिराखेका छौं भने अब डेडिकेटेड कोभिड अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने र केही सेवाहरु ननकोभिड पनि सञ्चालन गर्नुपर्ने बाध्यता छ । खास गरेर मृगौलासम्बन्धी उपचारको सेवा हाम्रोमा गर्नेपर्ने अवस्था छ । अन्य सेवाहरु हामीले राष्ट्रिय ट्रमा सेन्टरबाट दिने व्यवस्था मिलाएका छौँ ।

डा. रोहित पोखरेल, कार्यकारी निर्देशक, त्रिवि शिक्षण अस्पताल

लकडाउनपछिको समयमा ननकोभिड बिरामीको संख्या कम भए पनि त्रिवि शिक्षण अस्पतालले आकस्मिक सेवा, अपरेसन र ओपीडी सेवा खुला गरेर सेवा दिइरहेको छ । अहिले सबैभन्दा बढी अस्पतालले अपरेसनमा आकस्मिक र न्यून आकस्मिकलाई प्राथमिकता दिएको छ । तर आवश्यकताअनुसार सबै अपरेसन गर्ने गरेका छौँ । तर ननकोभिडलाई अलिकति कम गर्नुको कारण के हो भने स्रोतहरु धेरै खर्च नगरौं, पछि गाह्रो प¥यो भने अप्ठेरो होला भनेर सकेसम्म इमरजेन्सी र सेमीइमरजेन्सी अपरेसनको लागि मात्रै ध्यान दिएका छौं । कोभिडको लागि चैत महिनादेखि भदौको अन्तिमसम्म आउँदा झण्डै तीन हजार कोभिड शंकास्पद बिरामीहरुलाई हामीले सेवा दिएका छौ । त्योमध्ये झण्डै १३ सय बिरामी भर्ना गरेर उपचार गरेका छौं ।

गणेशमान सिंह भवनमा नाक, कान, घाँटीको ओपीडी अपरेसन र वार्ड सबै चलिराखेको र अर्थोपेडिकको चाहिँ वार्ड र अपरेसन थिएटर भएकोमा कुल पाँचवटा अपरेसन थिएटर भएकोलाई हामीले कोभिड ब्लक भनेर सेपरेट ग¥यौं । ताकि त्यो भिन्दै भएको हुनाले छुट्याउन सकियोस् भनेर हामीले गरेका थियौं । तर अहिलेको अवस्थामा बिरामीहरुको चाप हेरेपछि हामी अर्को म्याटोनिटी ब्लकलाई पनि कोभिडको लागि प्रयोग गरेका छौं । त्यस्तै एनएस थ्रीलाई पनि कोभिडको वार्ड भनेर अहिले हामीसँग कोभिडको लागि भनेर एक सय २० वटा बेड छुट्याएका छौं । निकट भविष्यमा हामी दुई सयवटा बेड छुट्याउने पक्षमा छौँ ।

अहिलेसम्म हामीले दुई सय ३३ जना कोभिड बिरामीलाई सेवा दिएर पठाएका छौं । हेमो डायलासिस हामीले दिनमा झण्डै ४० वटा गर्छौं । दुईवटा हेमो डायलासिस मेसिन कोभिडको लागि छुट्याएका छौं । कोभिड पोजेटिभ भएको बिरामीको डायलासिस त्रिवि शिक्षण अस्पतालमा मात्रै हुन्छ । अहिलेसम्म १८ जना पोजेटिभ केस भएका बिरामीको हेमो डायलासिस गरेका छौं । अहिले बच्चाहरुको पनि पोजेटिभ केस आउन थालेपछि हामीले पीआईसीयू वार्ड बच्चाहरुको लागि छुट्यायौं र त्यो वार्डमा अहिलेसम्म २८ जनालाई भर्ना गरेर सेवा दिएका छौं । भेन्टिलेटरमा पाँचजनालाई सेवा दियौं भने कोभिड पोजेटिभ भएका बच्चाहरु दुईजना थिए ।

डा. रवि शाक्य, कार्यकारी निर्देशक, पाटन अस्पताल

कोभिड संक्रमणको दर बढेसँगै पीपीईलगायतका सामग्रीको अभाव हुने देखेर हामी आफैंले त्यसको उत्पादन सुरु ग¥यौं । पीपीई, मास्क र सेनिटाइजर सबै उत्पादन गरिरहेका छौं । तर अहिले पनि पर्याप्त त छैन तर सक्दो उत्पादन गरेर हामीले प्रयोग गरिरहेका छौं । आजको मितिसम्म हाम्रो अस्पतालमा दुई हजार कोडिभका बिरामीहरु भर्ना भएका छन् । जसमा १८ सयजना निको भएर घर फर्किएका छन् । अहिले एक सय १० जना उपचाररत छन् । ३० जनाको मृत्यु भएको छ ।

हामीले दुईवटा मेसिन राखेर लगातार हेमोडायलासिस गरिरहेका छौं । कोभिड वार्डभित्र पनि सबै सेवा सुविधाहरु छन् । त्यहाँ सुत्केरी सेवा, साइक्याटिक सेवा र सर्जरीहरु सबै सेवा दिइरहेका छौँ । सर्जरीको छुट्टै सेटअप पनि छ । कुनै पनि अरु सेवाहरुलाई बन्द गरेको अवस्था छैन । अहिले हाम्रो स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिएको अवस्था छ । अस्पतालको बिरामीबाट सर्नेभन्दा पनि कम्युनिटीबाट नै सरेर आएर एउटा स्वास्थ्यकर्मीले अर्कोलाई सारेको अवस्था बढी छ । बरु कोभिड वार्डमा छिर्नेहरु एकदमै सतर्क भएका छन् । उनीहरुमा त्यति फैलिएको छैन । अरुहरु फैलिएको अवस्था छ ।

आजको दिनमा करिब–करिब तीन दर्जनजति पोजेटिभ भएर अहिले पनि १६ जना भर्ना भएर उपचार गराइरहेका छन् । स्वास्थ्यकर्मी अथवा काम गर्ने म्यानपावरको पनि हामीलाई कठिनाइ भइरहेको छ । संक्रमण नभएका स्वास्थ्यर्मीहरु पनि त्रसित बन्दै गएका छन् । उनीहरुको मनोवल एकदमै कम भएको अवस्था छ । काम गरे पनि जस पनि नदिने समाजले पनि सम्मान पनि नदिने अवस्था छ । त्यो अवस्थामा स्वास्थ्यकर्मीहरुबाट काम लिन एकदमै गाह्रो भएको छ ।

डा. संगीता शाक्य, कोभिड व्यवस्थापन प्रमुख, बीएन्डबी अस्पताल

सबैभन्दा ठूलो गल्ती कोभिड र ननकोभिड बिरामीहरु एकै ठाउँमा राखेर भएको छ । त्यो गल्ती हामीले गरिरहेका छौं । बरु यो गर्नुको सट्टा कोभिड डेडिकेटेड अस्पतालहरु क्षमता बढाएर कोभिड बिरामीहरुलाई कोभिडका लागि तोकिएका अस्पतालमा राख्यो भने कमसेकम ननकोभिड बिरामीले त सेवा पाउने भयो नि ! स्टाफहरुले बिरामी छुनै डराउँछन् । हामीले त्यो समस्या भोगिरहेका छौं । नर्सहरुले छुनै डराउँछन् । अब बच्चा एकजना आएको छ, इमरजेन्सीकोले लिन मानिरहेको छैन । हामीले बीएन्डबीमा यो समस्या भोगिरहेका छौं ।

इमरजेन्सीमा आएको स्टाफहरुले राति १२ बजे आएको बच्चालाई बिहान ४ बजेसम्म इमरजेन्सीमा नल्याऊ भन्छ । पीसीआर टेस्ट गरेर मात्र ल्याऊ भन्छ । यो हाम्रो अस्पतालको समस्या मात्रै होइन, अरु अस्पतालमा यस्तै समस्या छ । जबसम्म हामीलाई फोन आउँदैन, तबसम्म तुरुन्त बच्चालाई उपचार गर नभनुन्जेलसम्म लिनै नमान्ने । हाम्रै कर्मचारीले गररहेको छैन । अनि त्यो बिरामीलाई त्यहाँ गाह्रो भयो । के हामी ठिक गरिरहेका छौं यो गरेर ? २० प्रतिशत सबै अस्पतालमा कोभिड बिरामी राखेर संक्रमणको झन् जोखिम भयो ।

डा. चक्रराज पाण्डे, मेडिकल डाइरेक्टर, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल

डाक्टर, नर्स र हाउसकिपिङहरुको सुरक्षाका लागि एकदम क्रिटिकल छ हाम्रो लागि । त्योभन्दा अर्को ठूलो कुरा भनेको बिरामीलाई जुनखालको आत्मवल दिएर उपचार गर्नका लागि धेरै लगानी जरुरी हुन्छ तर पब्लिकले हेर्दा निजीमा आफूले पैसा तिरेर उपचार गर्ने अधिक खर्च हुने अवस्था अहिलेको बेलामा मैले देखेको छु । कोभिड बिरामी लिन सुरु भएपछि हामीले ४६ जना बिरामीलाई भर्ना गर्‍यौं । जसमा धेरै सिरियस बिरामीहरु आईसीयू । हामीले कोभिडका लागि १२ वटा आईसीयू बेड छुट्याएका छौं ।

हामीले खर्च गर्न सक्ने बिरामीलाई एकल कोठा दिएका छौं । अलिकति कम खर्च गर्न सक्ने र आईसीयूमा राख्न नपर्नेलाई चारजनाको बेड उपलब्ध छ । जुन आईसीयुमा राख्न नपर्ने त्यस्तोखालको इकोनोमिक बेड, त्योभन्दा तल्लो बिरामीलाई १८ बेडको आइसोलेसन गरेर सरकारले मागेको २० प्रतिशत बेडमा हामीले झण्डै ३० प्रतिशत बेड अस्पतालको कुल क्षमताको बेड थपेका छौं । ४६ जना बिरामी भर्ना भएकोमा २२ जना निको भएर घर फर्किएका छन् । भेन्टिलेटरमा राखेको उपचार गरिएको तीनजना घर फर्किएका छन् । जसमा प्लाज्मा थेरापी, रेन्डिकेसन जस्ता रेन्डिसिपेड जस्ता सेवाहरु पनि दिइएको थियो । केही बिरामीलाई नेगेटिभ भए पनि नर्मल वार्डमा सार्न सक्यौं । अहिले पनि २३ पोजेटिभ बिरामी अहिले पनि हाम्रो अस्पतालमा हुनुहुन्छ ।

अर्को चुनौतीको कुरा भनेको स्टाफको हो । अब वार्डमा पीसीआर गर्नुभयो, बिरामीको पीसीआर नेगेटिभ । अब बिरामीलाई सर्जरीमा लिएर गयौं, अपरेसन भयो । सबै ठिक छ, दुई दिनपछि ज्वरो आउँछ । अब पीसीआर ग¥यो, अब पोजेटिभ आउँछ । त्यो कसैले पनि भविष्यवाणी गर्न नसक्ने चुनौती छ । स्टाफ र डक्टरलाई उत्प्रेरित गर्न उनीहरुको उपचारमा लागेको खर्च अस्पतालले गर्ने, खान्कीको व्यवस्था गर्ने, उनीहरुलाई होटल अथवा अस्पतालको बेडमा भर्ना गरेर टेककेयर गर्ने गर्दा आर्थिक क्षेत्रबाट सर्भाइभ हुने देखिँदैन । तर अर्को विकल्प पनि छैन किनभने स्टाफको केयर गर्न सकेनौं भने उनीहरुलाई समयमा तलब दिन सकेनौं भने त हाम्रो अस्पतालले कोभिडको सेवा दिने कुरा त परै जाओस् उनीहरुको केयर पनि हाम्रो लागि धेरै चुनौती हुन आउँछ । कोभिड मेडिकल संक्रमण मात्रै नभएर यो सामाजिक चुनौती हो । अहिले जसरी सरकारी संस्थालाई गाह्रो छ, त्योभन्दा कम गाह्रो निजी अस्पताललाई छ भन्न मिल्दैन ।

डा. अजय खड्का, आइसोलेसन इञ्चार्ज, नर्भिक अस्पताल

स्टाफहरुलाई छुट्टै होस्टल लिएर राखिएको छ । खानालगायतको व्यवस्था सबै अस्पतालले नै गरेको छ । कर्मचारीका लागि इन्सेन्टिभको रुपमा तलबमा नै थप गरेर दिने गरिएको छ । बिरामीलाई असर नहोस् भनेर कोभिडका बिरामीहरुको उपचारका लागि भवन छुट्याइएको छ । २८ जना पोजेटिभ बिरामीको उपचार भएकोमा अहिलेसम्म नौजना डिस्चार्ज भएका छन् । दोस्रो अथवा तेस्रो परीक्षणमा नेगेटिभ आएको खण्डमा डिस्चार्ज गरेर पठाउने गरेको छ । आफ्नो ल्याब नभएको कारण परीक्षणका लागि बाहिर पठाउने गरिएको छ ।

डा. जेनश आचार्य, सहनिर्देशक, केएमसी अस्पताल

जेठ १० गते पहिलो बिरामी लिँदा हामीले सिनामंगलमा नौ सय ३० जना बिरामी स्क्रिनिङ क्लिनिकबाट हेरिरहेका थियौं । आजको दिनसम्म ३८ हजार छ सय ६२ जनालाई ओपीडी सेवा दिइसकेका छौं । २२ हजार एक सय ६६ जना भर्ना भएर निको भएर ननकोभिड बिरामीको उपचार भएको छ । इमरजेन्सीमा चार हजार सात सय ८१ जना बिरामीलाई सेवा दिइसकेका छौं । अहिलेसम्म ११ सयवटा सर्जरी भइसकेको छ भने सात सय ८८ वटा डेलिभरी भइसकेको छ । दुवाकोटमा आजको दिनसम्ममा दुई सय छजना कोभिडको शंकास्पद बिरामीलाई आउनेबित्तिकै क्वारेन्टाइनमा राख्ने काम ग¥यौं । दुवाकोटको हस्पिटल पनि ग्रिन जोन र रेड जोनमा वर्गीकरण गरेर ग्रिन जोनमा डेन्टल कलेज भएको हुनाले डेन्टल सुविधा दिएका थियौं । रेड जोनमा लिफ्ट प्रयोग गरेर शंकास्पद बिरामीलाई आठ तलामा राख्यौं ।