विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छ : मन्त्री पुन

रोल्पा, २४ भदौ । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् ।

प्रेस संगठन जिल्ला शाखाले बुधबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुनले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताए ।

उनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही २९ भदौसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए ।

कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे ।

उनले भने, ‘कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता छैन ।’

Loading...