कोरोनाको पीडा : विपन्नलाई हातमुख जोड्दा ऋणको भारी, भाडा तिर्ने कसरी ?

मोहन ढकाल

विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिका–९ की ज्योति साहको पानी पुरी र चटपटे व्यावसाय राम्रैसँग चलेको थियो । तर अचानक लकडाउन भएपछि उनको व्यापार बन्द भयो । छजनाको परिवार पाल्न मुस्किल भएपछि उनले पेसा परिवर्तन गरिन् । चटपटे र पानीपुरीको व्यापार गर्दै आएकी उनले परिवार लकडाउनयता तरकारी बेच्दै छिन् ।

सामान्य अवस्थामा चटपटे व्यापारबाट छजनाको परिवारमा गुजारा राम्ररी चलेको थियो । छोराछोरी पढाउन समस्या थिएन । ‘अहिले कोठा भाडा तिर्न सकेको छैन,’ उनले भनिन्, ‘बिहान–बेलुकाको छाक टार्नलाई पनि समस्या छ ।’

उनले हस्पिटल चोक वरिपरिका क्षेत्रमा ठेला राखेर तरकारी बेच्ने गरेकी छन् । लकडाउनका बेला तरकारी बेच्न निस्कदाँ नगर प्रहरीले ढक–तराजु नै लगिदिएको स्मरण गर्दै उनले भनिन्, ‘लकडाउनका समयमा यस्तो समस्या म जस्ता धेरैले भोगे । अब कसैले नभोगुन् ।’

विराटनगर–१० का दीपक मण्डलले १८ वर्षयता ठेलामा नियमित चटपटे र पानीपुरी बेचे । चटपटे व्यापारबाट उनको परिवार चलेको थियो । लकडाउनको तीन महिना घरमै बसेका उनले पेसा परिवर्तन गरी तरकारी बेच्न सुरु गरे । तर घाटा लाग्यो । ‘२० दिन मात्रै तरकारी बेचेँ, चार–पाँच हजार घाटा लाग्यो,’ उनले भने, ‘चार दिन भयो फेरि चटपटे बेच्न थालेको छु, तर ग्राहक आउँदैनन् ।’

लकडाउनको अवधिमा एक लाख ५० हजार ऋण लागेको उनले बताए । ‘आमा बिरामी हुनु भयो । उपचार गर्ने खर्चसमेत थिएन,’ उनले भने, ‘जसोतसो ऋणपान गरेर उपचार गरियो । काम नहुँदा खाना खान पनि ऋण खोज्नु पर्‍यो ।’ पुनः व्यापार गर्न पाउने आसमा रहेका उनले थपे, ‘लकडाउनको पीडा भुल्न पनि सकिँदैन, नभुलौँ अझै पिरोल्छ ।’

ठेलामा फलफूल बिक्री गर्दै आएका रामकुमार दासको पनि समस्या पनि उस्तै छ । लकडाउनको अवधिमा उनले ३० हजार घाटा व्यहोरेका छन् । बिक्री नभएर धेरै फलफूल कुहिएर गएको उनले बताए । लकडाउनमा परिवार चलाउन गाह्रो भएको उनले बताए । पेट पाल्न सडकमा निस्कँदा प्रहरीले पनि सास्ती दिएको उनको गुनासो छ । ‘पहुँच भएका र ठूलाबडाले जसो गर्दा पनि हुन्छ तर हामीले अनेक समस्या झेल्न पर्छ,’ उनले भने, ‘हामीलाई हातमुख जोड्नै समस्या छ । पीडा खै कसले बुझिदिन्छ ।’

विराटनगर–६ की लक्ष्मी गुप्ता सडकपेटीमा कपडा बेच्छिन् । उनका दुःख पनि अरुका भन्दा फरक छैनन् । लक्ष्मीको पाँचजनाको परिवार छ । आम्दानीको स्रोत नभएपछि ऋण लिएर परिवार चलाइरहेको उनले बताइन् । उनका श्रीमान् र श्रीमती कपडा व्यापार गर्छन् । तर लामो समय काम नै रोकियो । ‘लकडाउन त खुल्यो, अब घर चलाउन लिएको ऋण तिर्न सक्छु होला,’ उनले भनिन्, ‘फेरि लकडाउन भए हामीलाई गाह्रो हुन्छ ।’

३० वर्षयता जुत्ता चप्पल सिलाएर परिवार चलाउँदै आएका भुषण रामको पनि उस्तै समस्या छ । पाँचजनाको परिवार पाल्ने जिम्मेवारी उनको काँधमा छ । तर कोरोनाले उनलाई गाह्रो बनायो । ‘धेरै समय घरमा बसेँ,’ उनले भने, ‘काम नहुँदा हातमुख जोड्न गाह्रो छ । चार दिन भयो काम गर्न आएको तर ग्राहक छैनन् ।’

कोरोना महामारीका कारण विपन्न अवस्थाका सर्वसाधारण बढी तनावमा छन् । छ महिना घरमै बस्न बाध्य भएका उनीहरु राज्यले दैनिकी सहज बनाउने बातावरण बनाइदिनुपर्ने बताउँछन् ।

Loading...