‘प्रेम गीत ३’का निर्देशकको निधन

विराटनगर, २४ भदौ । ‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन भएको छ ।

उपचारका क्रममा मंगलबार बिहान २ बजे उनको अस्पतालमा निधन भएको हो । कलेजोमा समस्या आएपछि ४२ वर्षीय गुरुङलाई उपचारका लागि दुई दिनअगाडि अस्पताल भर्ना गरिएको थियो । उनको महाराजगञ्जको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिएका हुन् ।

लेखकसमेत रहेका गुरुङले ‘डमरूको डन्डिबियो’बाट निर्देशन सुरू गरेका हुन् । उनले डायरी, नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३ फिल्मको कथा लेखेका छन् । कोरोनाका संक्रमणका कारण फिल्म हल बन्द भएपछि उनको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेम गीत–३’ रिलिज हुन सकेको छैन । लकडाउनमा कारण उनी केही महिनायता सन्तोष सेनसँग मिलेर फिल्म ‘हुतुतु’ को तयारीमा रहेका थिए ।

Loading...