रुसी खोप भारतसहितका अन्य केही देशमा परीक्षण हुने

विराटनगर, २४ भदौ । रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका अन्य केही देशमा समेत परीक्षण हुने भएको छ ।

रुसी अधिकारीका अनुसार ‘स्पुत्निक भी’ नाम गरेको रुसी खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको हो । रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारतसहित साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), फिलिपिन्स, ब्राजिललगायतका देशमा खोपको परीक्षण हुन लागेको बताएका हुन् ।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा रुसको खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनाको बीचमा रुसमै गरिएको उल्लेख छ । खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको दाबी गरिएको थियो । अब खोपको तेस्रो चरणको परीक्षण हुन लागेको किरिल बताउँछन् ।

तेस्रो चरणको परीक्षणका लागि फरक–फरक उमेर र जोखिम समूहबाट ४० हजार स्वयंमसेवकको सहभागी हुने जनाइएको छ । परीक्षणको नतिजा आउँदो अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने जानकारी दिइएको छ ।

Loading...