क्रोएशियामाथि फ्रान्सको जित

एजेन्सी, २४ भदौ । यूईएफए नेशन्स लिगमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको दोस्रो खेलमा फ्रान्सले क्रोएशियामाथि ४–२ गोलको जित निकालेको हो ।

फ्रान्सको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन एन्टोइन ग्रिजम्यान, डायोट उपामेकानो र ओलिभर जिराउडले समान एक–एक गोल गरे भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । क्रोएशियाका डोमिनिक लिभाकोभिकले आफ्नै पोस्टमा गोल गरेका थिए ।

यता, क्रोएशियाका लागि डेजान लोभ्रेन र जोसिप ब्रेकालोले समान एक–एक गोल गरे ।

खेलमा क्रोएशियाले सुरुआती अग्रता बनाएको थियो । खेलको १६औं मिनेटमा लोभ्रेनले गोल गर्दै क्रोएशियालाई अग्रता दिलाए ।

खेलको ४३औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई बराबरीमा फर्काए । यस्तै पहिलो हाफको इन्ज्युरी समयमा लिभाकोभिकले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनायो ।

खेलको ५५औं मिनेटमा ब्रेकालोले गोल गर्दै क्रोएशियालाई खेलमा फर्काए । ६५औं मिनेटमा उपामेकानोले गोल गरेपछि फ्रान्सले ३–२ गोलको अग्रता बनायो ।

यसैगरी ७७औं मिनेटमा जिराउडले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई ४–२ गोलले जिताए ।

यससँगै फ्रान्सले लगातार दोस्रो जित निकालेको छ । यसअघि उसले स्वीडेनलाई हराएको थियो । समूह ‘सी’को फ्रान्सले ६ अंक जोडेको छ ।

पराजित क्रोएशियाले भने लगातार दोस्रो हार ब्यहोरेको छ । यसअघि पहिलो खेलमा ऊ साविकको विजेता पोर्चुगलसँग स्तब्ध भएको थियो ।

मंगलबार राति नै भएको सोही समूहको अर्को खेलमा पोर्चुगलले स्वीडेनमाथि २–० गोलको जित निकालेको छ ।

Loading...