रोनाल्डोको दुई गोल, पोर्चुगलको लगातार दोस्रो जित

एजेन्सी, २४ भदौ । कप्तान क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगलले यूईएफए नेशन्स लिगमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको दोस्रो खेलमा पोर्चुगलले २–० गोलको जित निकालेको हो ।

फ्रेन्ड्स एरिनामा भएको खेलमा साविकको विजेता पोर्चुगललाई जिताउन कप्तान रोनाल्डोले दुवै गोल गरे । खेलको ४५औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए । फ्रिकिकमा गोल गर्दै रोनाल्डोले करिअरको सयौं अन्तर्राष्ट्रिय गोल पूरा गरे ।

त्यसअघि खेलकाे ४४औं मिनेटमा स्वीडेन १० खेलाडीमा सीमित बनेकाे थियो । स्वीडेनका गुस्ताव सेभेन्सन राताे कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

यस्तै खेलको ७२औं मिनेटमा जाओ फेलिक्सको पासमा रोनाल्डोले दोस्रो गोल गरे । यससँगै ३५ वर्षीय रोनाल्डोले १०१ अन्तर्राष्ट्रिय गोल गरे । १६५औं खेलबाट १०१ गोल गरेका उनी सय अन्तर्राष्ट्रिय गोल गरे दोस्रो खेलाडी बने ।

इरानका अलि डेइल १०९ गोलसहित शीर्ष स्थानमा छन् । डेइलले १४९ खेलमा उक्त कीर्तिमान बनाएका थिए । अब रोनाल्डोले ९ गोल गरेमा डेइलको कीर्तिमान तोड्नेछन् ।

रोनाल्डोले २ गोल गर्दै पोर्चुगललाई लगातार दोस्रो जित दिलाए ।

जितसँगै समूह ‘सी’को पोर्चुगलले ६ अंक जोडेको छ । यसअघि पोर्चुगलले क्रोएशियालाई हराएको थियो ।

स्वीडेन भने अंकविहीन छ । स्वीडेन पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । यता, अर्को खेलमा सोही समूहका फ्रान्सले क्रोएशियामाथि ४–२ गोलको जित निकालेको छ ।

रोनाल्डोको सय गोल पूरा १ घण्टा

Loading...