केभिन डी ब्रुयनलाई ‘पीएफए प्लेयर अफ दि इयर’को उपाधि

एजेन्सी २४ भदौ । म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयन पीएफए प्लेयर अफ दि इयर घोषित भएका छन् ।

व्यवसायिक फुटबलरहरूको महासंघले बेल्जियन स्टार ब्रयुनलाई प्लेयर अफ दि इयर २०२० घोषित गरेको हो ।

२९ वर्षीय ब्रुयनले चार खेलाडीलाई उछिन्दै पीएफए प्लेयर अफ दिन सिजनको अवार्ड जितेका हुन् ।

उनले प्रिमियर लिग विजेता लिभरपुलका साडियो माने, भर्जिल भान डाइक, जोर्डान हेन्डरसन र ट्रेन्ट एलेक्जेन्डर–आनोल्डलाई उछिन्दै सो अवार्ड जिते ।

यसअघि बेल्जियन प्लेमेकर ब्रुयनले प्रिमियर लिगको ‘प्लेयर अफ दि सिजन’ को अवार्ड जितेका थिए । अघिल्लो सिजनको प्रिमियर लिगमा ३५ खेल खेलेका उनले १३ गोल र २० असिस्ट गरेका छन् ।

सिटीले दोस्रो हुँदै २०१९–२० को सिजनको प्रिमियर लिगको अन्त्य गरेको थियो ।

Loading...