Rumpum

Rumpum Advertisement

सीपीएल : सन्दीपको टोली जमैका सेमिफाइनलमा पराजित

सीपीएल : सन्दीपको टोली जमैका सेमिफाइनलमा पराजित

एजेन्सी, २४ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाज सेमिफाइनलमा परातित भएको छ ।

मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

ब्रायन लारा क्रिकेट स्टेडियमा जमैकाले दिएको १०८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा एक विकेटको क्षतिमै पूरा गरेको थियो ।

ट्रिनबागोलाई जिताउन लेन्ड्ल सिमोन्सले अविजित रहँदै ५४ रन बनाउँदा टिओन वेब्स्टर ४४ रनमा अविजित रहे ।

जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।

सेमिफाइनलमा ४ ओभर बलिङ गरेका सन्दीपले २९ रन खर्चिए तर विकेट झार्न सकेनन् । सन्दीपले यस सिजन ११ खेलमा कुल १२ विकेट लिन सफल भए ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १०७ रन बनाएको थियो ।

जमैकाका लागि कुमराह बोनरले ४१ रन जोडे । उनले ४२ बलमा ५ चौका हिर्काएका थिए । यस्तै कप्तान रोभमा पावलले ३३ रन बनाए । यस्तै कार्लोस ब्रेथवेटले १३ रन जाडे भने अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ अकिल होसेनले ३ विकेट लिए भने खारी पिएर्रेले २ विकेट लिए । सुनिल नारिने र फवाद अहमदले समान एक–एक विकेट झारे ।

जितसँगै ट्रिनबागो फाइनल पुगेको छ । अब उसले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जौक्सबीचको विजेता टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।