काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै जोर–बिजोर प्रणाली लागू गर्न माग

काठमाडौं, २३ भदौ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गर्न माग गरिएको छ ।

काठमाडौँमा मंगलबार बसेको नगरपालिका फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी सञ्चालनमा जोर–बिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको हो ।

निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाई गर्नसमेत सरकारलाई सुझाव दिएको उनले बताए ।

यस्तै, काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समयावधि सकिन एक दिन बाँकी रहँदा आगामी दिनका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले छलफल थालेको छ ।

सरकारी निकाय, जनप्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिसँग आज छलफल गरेको र आएका सुझावको आधारमा निषेधाज्ञाबारे उपयुक्त निर्णय गरिने जनाइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा जारी भएपछि हालसम्मको अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा अपनाउने रणनीतिका बारेमा विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गरिएको जानकारी दिए ।

Loading...