कोरोना महामारीमा बिरामीलाई गलत औषधि बेच्छन् फार्मेसी

विराटनगर, २३ भदौ । कोरोनाको बहानामा बिरामीलाई अस्पतालले भर्ना लिन मान्दैनन् । अस्पतालले अस्वीकार गर्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भएका सर्वसाधारणले अकालमा ज्यान गुमाइरहेका छन् ।

मुस्किलले अस्पताल भर्ना भएर उपचार पाउन थालेका बिरामीलाई पनि फार्मेसी (औषधि पसल)ले चरम शोषण गरिरहेको पाइएको छ । फार्मेसीबाट चिकित्सकले सिफारिस नै नगरेका गलत औषधि दिएर बिरामीको ज्यानै जोखिममा पार्ने काम भइरहेको भेटिएको हो ।

बिरामीलाई चिकित्सकले सिफारिस नै नगरेका औषधि जबरजस्ती भिडाएर फार्मेसीले चरम बद्मासी गरिरहेका हुन् । औषधि व्यवस्था विभाग विराटनगरले अनाधिकृत हिसाबले दिइने गलत औषधिले बिरामीको ज्यान जोखिममा परेको जनाएको छ ।

विभागले मंगलबार अनुगमन गर्दै चिकित्सकको सिफारिसबिना औषधि बेच्ने एउटा फार्मेसी सिल गरिदिएको छ । औषधिको बिक्री–वितरणमा रोक लगाउँदै विराट नर्सिङ होम अगाडि रहेको महेश मेडिकल हलमा ताला लगाइएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले बताए ।

उपचारमा संलग्न डाक्टरबाट सिफारिस नै नभएका औषधि फार्मेसीले बिरामीलाई आफूखुशी बेच्ने गरेको पाइएको उनको भनाइ छ । उक्त फार्मेसीका सञ्चालक कृष्णकुमार यादव हुन् । उनले कुटपिटबाट घाइते भएकी मोरङको जहदा गाउँपालिका–२ की ७० वर्षीया वृद्धा दुर्गादेवी पासवानलाई गलत औषधि दिएको पाइएको छ ।

पासवानलाई गत मंगलबार उपचारका लागि नर्सिङ होम ल्याइएको थियो । चिकित्सकले सिफारिस गरिदिएपछि आफन्तले बिरामीलाई आवश्यक औषधि यादवले चलाएको महेश मेडिकल हलबाट लैजाने गरेका थिए ।

‘चिकित्सकले प्रेसक्रिप्सनमा बिरामीका लागि चारवटा औषधि सिफारिस गरेको पाइयो,’ विभागका प्रमुख कट्टेलले भने, ‘फार्मेसी सञ्चालकले भने अरु दुईवटा थप गरेर छ वटा औषधि बिरामीलाई बेचेछन् ।’

उनका अनुसार चिकित्सकबाट सिफारिस नै नभएको कडा खालको एन्टिबायोटिक ‘इन्जेक्सन मेनम’ र ग्याष्ट्रिकका बिरामीले प्रयोग गर्ने ‘इन्जेक्सन पेन्टोसिड’ फार्मेसी सञ्चालक आफूलेनै प्रेसक्रिप्सनमा थपेर दिएका हुन् ।

प्रमुख कट्टेलले पसलको सबै कागजात नियन्त्रणमा लिएर छानबिन थालिसकिएको जानकारी दिए । पसलमा बिक्री अनुमतिनै नभएका केही औषधि पनि भेटिएकाले जफत गरिएको उनको भनाइ छ ।

अनुमति प्राप्त अधिकारीबाट औषधि बिक्री नगर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक यादवलाई दुई महिनाअघि पनि विभागले उपस्थित हुन पत्र काटेको थियो ।

‘अनुमतिनै प्राप्त नगरेका व्यक्तिबाट औषधि बिक्री गर्ने गरेको पाइएपछि सबै विवरण लिएर एक साताभित्रमा उपस्थित हुन दुई महिनाअघि निर्देशन दिइएको थियो,’ उनले भने, ‘तर हाजिर नभइकन अटेर गरेर बसिरहेको पाइयो ।’ उनले सुरुमा फार्मेसीलाई निलम्बन गरेर अरु कारबाही अघि बढाइने जानकारी पनि दिए ।

Loading...