प्रदेश १ का उच्च प्रहरी अधिकृतमा कोरोना संक्रमण

विराटनगर, २३ भदौ । १ नम्बर प्रदेश प्रहरी कार्यालय उच्च पदस्थ प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि पोजिटिभको सूचीमा छ ।

कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि दिएका थिए ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट मंगलबार पोजेटिभ आएको मन्त्रालय स्रोतले जानकारी दियो ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाले नेपाल प्रहरीका उच्च अधिकृतलाई कोरोना पोजेटिभ देखिएको बताएको छ ।

संक्रमण पुष्टि भएपछि कार्की प्रदेश प्रहरी कार्यालयको क्वार्टरमै आइसोलेशनमा बसेको बताइएको छ ।

विराटनगरकै बासिन्दा भए पनि उनले स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिका–१६ भनेर ठेगाना टिपाएका छन् । उक्त ठेगाना उनी कार्यरत रहेको विराटनगरको रानीस्थित प्रदेश प्रहरी कार्यालयको हो ।

प्रदेश प्रहरीका प्रवक्ता डीएसपी सुमन तिमल्सिनाले डीआईजी कार्कीको रिपोर्ट पोजेटिभ आएको विषयमा आफूलाई जानकारी नभएको बताए ।

प्रदेश १ मा हालसम्म तीन सय ५५ जना नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये दुई सय २० जना कोरोना जित्दै डिस्चार्ज भइसकेका छन् ।

Loading...