निषेधाज्ञामा पनि नियमित बजार अनुगमन

काठडमौं, २३ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निषेधाज्ञाको समयमा पनि नियमित अनुगमन गरिरहेको बताएको छ ।

विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले निषेधाज्ञाको अवस्थामा अनुगमनमा जान असहज परिस्थिति भएपनि जनगुनासोलाई सम्बोधन गर्न नियमित रुपमा बजार अनुगमन गरिएको बताए ।

उनले कुनैपनि उपभोक्तालाई खाद्य वस्तुको स्वच्छता र गुणस्तरको बारेमा शंका लागेको खण्डमा फोनबाटै उजुरी दिएमात्रै पनि तत्काल अनुगमनमा जाने व्यवस्था मिलाइएको बताए । कोभिडको अवस्थामा पसल, व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा समेत मापदण्ड तयार गरी सोहीअनुसार अनुगमनलाई निरन्तरता दिइएको पनि प्रवक्ता महर्जनले बताए ।

निषेधाज्ञाको अवस्थामा आवागमनमा असहज हुँदा विभागमा ५० प्रतिशत कर्मचारी आउने गरेका छन् । तरपनि विभागले नियमति अनुगमनको कार्यलाई नरोकेको महर्जनले स्पस्ट पारे ।

विभागले लकडाउन सुरु भएयता खाद्य पदार्थको गुणस्तरसम्बन्धी गुनासोबाट खाद्य पसल, गोदाम, खाद्य उद्योगहरू तथा तरकारी फलफूल बजारको ११० पटक ३ सय भन्दा बढी खाद्य व्यवसायहरूमा निरीक्षण अनुगमन गरेको छ ।

यसबाहेक कोभिड महामारीको अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी तथा सचेतनासमेत गराउँदै आएको छ ।

Loading...