रियादमा अलपत्र दुई हजार नेपाली भोकभोकै, नेपाल आउन पाएनन्

रियादमा अलपत्र दुई हजार नेपाली भोकभोकै, नेपाल आउन पाएनन्

विराटनगर, २३ भदौ । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका दुई हजारभन्दा बढी नेपाली कामदार अलपत्र परेका छन् ।

कोरोना महामारी त्रासका कारण रोजगारी गुमेपछि स्वदेश फर्कन पाउने आसमा काम छाडेर रियादमा बसेका दुई हजारभन्दा बढी नेपाली कामदार अलपत्र परेका हुन् ।

पाँच महिनायता अलपत्र परेकामध्ये २५० महिला पनि छन् । ‘समास्को’ नामक कामदार सप्लाई गर्ने कम्पनीमार्फत् पुगेकाहरुलाई भवनभित्र राखिएको छ ।

‘यहाँ ५–७ महिनादेखि नेपाल फर्कन पाउने आसमा बसिरहेकाहरु छन् ।’ मोरङ पथरी घर भएका एक युवकलले भने, ‘खाना पाउन पनि मुस्किल छ ।’

नेपाल फर्कने आसमा बसेका कामदारहरुलाई पानीसमेत पिउन नदिएको उनको गुनासो छ ।

‘दुई हजारभन्दा बढी नेपाली मात्र फसेका छौं, भारतीयहरु त लगभग फर्किसके,’ उनले भने, ‘एम्बेसीमा फोन उठ्दैन । उठिहाले गाली गर्छन् ।’ ठूलो गोदामभित्र पशुसरह बस्नु परेको उनको गुनासो छ ।

‘सप्लाई कम्पनीले पठाउँछु भन्छ तर स्पष्ट जवाफ दिँदैन,’ मोरङ बेलबारी घर भएका अर्का युवकले भने, ‘गेट थुनेर राखेको छ । यहाँ शुद्ध पानीसमेत पिउन पाइँदैन ।’

अलपत्र अवस्थामा परेका नेपालीहरुले तत्काल स्वदेश फर्काउन माग गरेका छन् । ‘हामीलाई केही चाहिएन्, घर फर्कन पाए भयो,’ उनीहरुले भने, ‘बोल्दा एयरपोर्टमा समातेर थुन्छ भन्ने डर देखाउँछन् । नबोल्दा सात महिनादेखि अलपत्र छौं ।’