जेम्स रोड्रिग्वेजलाई रामोसको ‘भावुक सन्देश’

एजेन्सी, २३ भदौ । रियल मड्रिडका कप्तान सर्जियो रामोसले पूर्वसहकर्मी जेम्स रोड्रिग्वेजलाई भावुक सन्देश पठाएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा स्पेनिस स्टार रामासेले एभर्टनमा अनुबन्ध भएका रोड्रिग्वेजलाई सन्देश पठाएका हुन् ।

मंगलबार (आज) मात्र इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले रियल मड्रिडका स्टार मिडफिल्डर रोड्रिग्वेजलाई अनुबन्ध गरेको हो । एभर्टनले २९ वर्षीय रोड्रिग्वेजलाई २० मिलियन पाउण्डमा अनुबन्धन गरेको हो ।

उनले एभर्टनसँग जुलाई २०२२ सम्मको सम्झौता गरेका छन् । सन् २०१४ को विश्वकपमा गोल्डेन बुट जितेपछि मोनाकोबाट रियलमा अनुबिन्धत भएका उनी पछिल्लो समय भने सान्टियागो बर्नाबेउमा स्थान पाउन संघर्षरत थिए ।

उनले गत सिजन रियलबाट मात्र १४ खेल खेल्न पाए । रोड्रिग्वेज र रियलबीच सम्झौता एक वर्ष बाँकी रहेको थियो । तर, मैदान प्रवेश गर्न असफल भएपछि उनी रियलबाट बाहिरिएका हुन् ।

छ वर्षे रियल बसाइ अन्त्य गर्दै एभर्टन गएपछि रामोसले रोड्रिग्वेजलाई भावुक सन्देश पठाएका हुन् ।

‘शुभकामना मेरो साथी,’ रामोसले रोड्रिग्वेजसँगको फोटो हाल्दै लेखेका छन्, ‘ तथापि, तिमीलाई शुभकामनाको आवश्यकता पर्दैन । किनकि, तिम्रो बायाँ खुट्टा र प्रतिभा नै काफी छ । चाँडै भेट हुनेछ भाइ सफलताको कामना ।’

Loading...