कौसीमा फल्न थाल्यो ड्रागन फ्रुट

काठमाडौ, २३ भदौ । तीव्र गतिमा बढिरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतियोग्य जमिनको हिस्सा कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ । तर उर्जाशील किसानहरुले यही कंक्रिटको राजधानीमा घरको छत र कौसीमा फलफूल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

पछिल्लो समय कोरोना भाइरसले आक्रान्त बनाएको काठमाडौं उपत्यकामा किसानहरु घरको छतमा तरकारी र फलफूल उत्पादन गरेर लाखौं आम्दानी गरिरहेका छन् । बढ्दो शहरीकरण र जनसंख्याका कारण उब्जाउ हुने खेतियोग्य जमिन पाउनै मुस्किल पर्ने उपत्यकामा अहिले किसानहरु घरको छतमै फलफूल र तरकारी खेती गरेर लाखौं आम्दानी गरिरहेका हुन् ।

केही समयअघिसम्म आफ्नो आवश्यकताअनुसार घरको छतमा तरकारी फलाउँदै आएका किसाहरु अहिले छतमै ड्रागन फ्रुट फलाइरहेका छन् । ड्रगन फ्रुटको खेतिबाट कोरोनाका कारण बेरोजगार बनेका युवाहरुलाई राहत दिने मात्रै नभएर खाद्यन्न संकट, भोकमरी र अनिकाललाई न्यूनीकरण गर्न सकिने ड्रागन फ्रुट व्यवसायी बासुदेव ढकालले बताए ।

खेतियोग्य जमिन मासिँदै गए पनि उपत्यकाका घरका ५० प्रतिशत छतहरुमा मात्रै ड्रागन फ्रुटको खेति गर्न सकिए १५ अर्ब बढीको उत्पादन हुने उनले बताए । रोपेको एक वर्षपछि उत्पादन सुरु हुने ड्रागन फ्रुट स्याउ, सन्तला, आँप कटहर खेतिभन्दा सहज र बजारीकरणका लागि सरल हुने उनको भनाइ छ ।

बर्सेनि ठूलो मात्रामा बाहिरबाट आयात भइरहेको ड्रागन फ्रुटको खेति बिस्तारका लागि सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत् केही सम्बोधन गर्न खोजेको उनले बताए । राष्ट्र बैंकले समेत मौद्रिक नीतिमार्फत् विशेषगरी कृषि क्षेत्र र ड्रागन फ्रुटको खेति प्रबद्र्धनका लागि कार्यक्रमहरु ल्याएर सहयोग गरेको उनले बताए ।

कोरोना भाइरसले सामाजिक र आर्थिक जीवनलाई आक्रान्त पारेको छ । काठमाडौं उपत्यकामा पनि दिनदिनै संक्रमितको संख्या बढ्दो छ । लाखौंले रोजगारी गुमाएका छन् । यस्तो अवस्थामा घरको छतमा थोरै लगानीमा समेत गर्न सकिने ड्रागन फ्रुटको खेतिले स्वरोजगार बन्न मद्दत गर्छ र बर्सेनि विदेशबाट हुने गरेको आयातलाई निरुत्साहित गर्दै आफ्नो उत्पादन विस्तार गरी देशको आर्थिक वृद्धिमा टेवा पुर्‍याउन सकिन्छ ।

Loading...