सेनिटाइजर किन्दा ध्यान दिनु पर्ने कुराहरू

विराटनगर, २३ भदौ । कोरोना भाइरसको जोखिम बढिरहेको बेलामा घरभित्र बस्दा साबुनपानीको प्रयोग बढी प्रभावकारी भएको बताए पनि घर बाहिर निस्किँदा सेनिटाइजर उपयोगी हुन्छ ।

पानी र साबुन नभएको ठाउँमा विकल्पको रुपमा प्रयोग हुने सेनिटाइजरको महत्व अत्यधिक बढिरहेको बेलामा बजारमा विभिन्न कम्पनीका सेनिटाइजर पाइन्छन् । तर, बजारमा पाइने कतिपय सेनिटाइजर गुणस्तरहीन हुनसक्ने मुख्य नियामक निकाय औषधि व्यवस्था विभागले गर्दै आएको निरीक्षण अनुगमनमा पाइएको छ । महामारी सुरु भएपछि सेनिटाइजरको गुणस्तरसम्बन्धी मापदण्ड बनाएर त्यसबमोजिम बजार अनुगमन भएको थियो ।

विभागका महानिर्देशक नारायण ढकालका अनुसार अनुगमनमा १५० वटा नमुनामा परीक्षणमध्ये ३० वटा जति गुणस्तरहीन भएको पाइयो । प्रारम्भिक जाँचमा कतिपय सेनिटाइजर प्रभावकारी नभएको नेपाल विज्ञान प्रविधि प्रतिष्ठानकी वैज्ञानिक डा. टिस्टा प्रसाईँ जोशी बताउँछिन् । डा. जोशीका अनुसार सेनिटाइजरले ब्याक्टेरियालाई कत्तिको मारेको छ भनेर हेर्दा ४५ प्रतिशत नमुनाहरू प्रभावकारी देखिएनन् । साथै, उनले भाइरस जाँच गर्ने सुविधा नभएको बताएकी छिन् ।

बजारमा उपलब्ध सेनिटाइजर कोरोना भाइरस मार्न कति प्रभावकारी छन् भन्ने जान्न विस्तृत अध्ययन आवश्यक रहेको देखिन्छ । त्यसैले, कुनै पनि स्यानिटाइजर किन्दा त्यसमा अल्कोहलको मात्रा (७०–८० प्रतिशत), नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको र झट्ट हेर्दा कुनै अन्य मिसावट नदेखिएको खण्डमा मात्र किन्नुपर्छ ।

आफैले घरमा बनाएको सेनिटाइजरहरू पनि गुणस्तरीय नहुने बताइएको छ । घरमा सेनिटाइजर बनाउँदा गलत नाप तथा गलत समाग्रीको प्रयोगले छालामा समस्या पैदा गर्न सक्छ ।

Loading...