क्यान्सरको उपचारसँगै ‘शमशेरा’को सुटिङमा फर्किए सञ्जय

विराटनगर, २३ भदौ । बलिउड अभिनेता सञ्जय दत्त क्यान्सरसँग जुधिरहेका बेला फिल्म ‘शमशेरा’ को छायांकनमा फर्किएका छन् ।

भारतीय मिडियाले जनाएअनुसार फोक्सोको क्यान्सर भएर कोकिलाबेन अस्पताल उपचार गराइरहेका सञ्जयलाई पहिलो चरणको केमोथेरापी दिइएको छ र यसले सकारात्मक प्रतिक्रिया देखाएको छ । उपचारका लागि अमेरिका जाने तयारीमा रहेको जनाइएको थियो । अमेरिकाले उपचारका लागि पाँच वर्षको भिसा दिए पनि उनी तत्काल उपचारका लागि अमेरिका जाने सोचमा छैनन् ।

अहिले उनी कोकिलाबेन अस्पतालमा नै उपचार गराइरहेका छन् । आफूलाई क्यान्सर पत्ता लाग्नुअगाडि नै साइन गरेका फिल्मको काम सक्ने योजना बनाएका सञ्जयले फिल्म ‘शमशेरा’को छायांकनमा फर्किएका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण फिल्मको छायांकन रोकिएको थियो । छायांकनमा फर्किएका सञ्जल निकै खुसी र उत्साहित रहेका छन् ।

करण मलहोत्राको निर्देशनमा तयार हुने फिल्ममा सञ्जय खलनायकको भूमिकामा रहेका छन् भने अभिनेता रणवीर कपुरको डबल रोल रहेको बताइएको छ । शमशेरासँगै उनको ‘केजीएफ २’को छायांकन पनि बाँकी छ । सञ्जयलाई क्यान्सर पत्ता लागेको केही दिनपछि नै क्यानसरसँगको लडाइँमा सञ्जयले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै डाक्टरहरूले आफ्नो काम गर्न र उनको स्वास्थ्यको अवस्थाबारे अनावश्यक अनुमान गरी हल्ला नगर्न मान्यताले आग्रह गरेकी थिइन् ।

Loading...