Rumpum Advertisement

रोनाल्डो शतक गोलको लक्ष्यमा

रोनाल्डो शतक गोलको लक्ष्यमा

एजेन्सी, २३ भदौ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यूईएफए नेशन्स लिगअन्तर्गत स्वीडेनसँगको खेल खेल्ने सम्भावना बलियो बनेको छ ।

खुट्टाको समस्यामा केही सुधार आएर प्रशिक्षणमा फर्किएसँगै ३५ वर्षीय रोनाल्डोले स्वीडेनसँगको खेल खेल्ने सम्भावना बलियो बनेको हो ।

मौरीले दाहिने खुट्टाको औंलामा टोकेपछि रोनाल्डोले क्रोएशियासँगको खेल गुमाएका थिए । समूह चरणको पहिलो खेलअन्तर्गत क्रोएशियामाथि पोर्चुगलले ४–१ गोलको जित निकालेको थियो ।

सो खेलमा रोनाल्डोले दर्शकदीर्घामा बसेर खेल हेरेका थिए । पोर्चुगलका प्रशिक्षक सान्टोसले क्रोएशियासँगको खेलपछि उनले भनेका छन्, ‘यदि उनी फिट भएको भए म उनलाई आराम दिने थिइनँ । खेल खेल्ने अवस्थामा भएको भए उनी सुरुआती ११ बाटै हुने थिए ।’

‘आज उनले राम्रो महशूसका साथ प्रशिक्षण गरे । उनी स्वीडेन भ्रमणमा हुनेछन् तर हेरौं त्यसपछि के हुन्छ’, उनले थपे ।

यता, कप्तान रोनाल्डोले भने सामाजिक सञ्जालमा स्वीडेनसँगकाे खेल खेल्न आफू तयार रहेकाे जनाएका छन् । आज रोनाल्डो टोलीमा फर्किएमा पोर्चुगिज टिम थप बलियो हुनेछ ।

यस खेलमा रोनाल्डो शतक गोल गर्ने लक्षयमा हुनेछन् । रोनाल्डोले पोर्चुगलका लागि ९९ गोल गरिसकेका छन् ।

फ्रेन्डस एरिनामा नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुने खेलमा पोर्चुगल र स्वीडेनले खेल्दैछन् ।