सीपीएल : फाइनल प्रवेशका लागि सन्दीपको टोली जमैका प्रतिस्पर्धामा

एजेन्सी, २३ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाजले सेमिफाइनल खेल्दैछ ।

ब्रायन लारा क्रिकेट स्टेडियमा हुने पहिलो सेमिफाइनलमा जमैकाले शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित खेल्नेछ ।

यो खेल नेपाली समयानुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ । जसमा, दुवै टोली फाइनल पुग्ने योजनामा छन् ।

यी दुईबीचको विजेता टोलीले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जौक्सबीचको विजेता टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।

यस खेलमा हालसम्मको खेल प्रदर्शनको आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ । जमैकाले बलिङ लाइन सन्दीपमाथि निर्भर रहने गरेको छ । सन्दीपले विपक्षी खेलाडीलाई खुलेर रन बटुल्न दिएका छैनन् ।

सन्दीप र अफगानिस्तानका युवा खेलाडी मुजिबउर रहमानले जसरी जमैकालाई बलिङमा साथ दिँदै आएका छन् । त्यसैगरी ब्याटिङ लाइन बलियो भएमा जमैकाले सेमिफाइनलमा जित्न सक्ने अनुमान गरिएको छ ।

आइतबार रातिबाट सीपीएलको समूह चरणको सबै खेलहरू सकिएका छन् । सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले दश–दश वटा खेल खेलेका थिए । जमैका र सेन्ट किट्सबीचको खेल भने वर्षाका कारण रद्द भयो ।

बाँकी नौ वटा खेलमा भने सन्दीपले खेलैपिच्छे विकेट लिएका छन् । सन्दीपको बलमा विपक्षी खेलाडीहरूले खुलेर रन बनाउन सकेनन् । उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरे ।

जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाएका थिए । उनले ९ खेलबाट १२ विकेट लिएका थिए । जमैकाले एक खेलमा भने वर्षाका कारण खेल रोकिएपछि बराबरी अंक बाँडेको थियो ।

जमैका समूह चरणका १० खेलमध्ये तीनमा जित तथा ६ वटामा हारका साथ ७ अंक बटुल्दै अंक तालिकाको चौथो स्थानमा खुम्चियो । यद्दपि, सन्दीपले भने जमैकाका लागि कसिलो बलिङ गरे ।

Loading...