Rumpum

Rumpum Advertisement

हातमुख जोड्न समस्या छ, विद्यार्थीले भाडा तिर्नु कसरी?

हातमुख जोड्न समस्या छ, विद्यार्थीले भाडा तिर्नु कसरी?

अभिमन्यु यादव

कोरोना महामारीले सिर्जना गरेको भयका बारेमा तपाई सबै जानकार हुनुहुन्छ । चीनको वुहान सहर हुँदै विश्वभर फैलिएको कोरोनाले हाम्रो देशलाई पनि अछुतो राखेन । यो अवस्था कहिलेसम्म रहन्छ भन्ने प्रश्नको जवाफ पाउन गाह्रो छ । कोभिड–१९ को भ्याक्सिन आउँछ र दीर्घकालीन सावधान तत्कालका लागि कल्पनाको विषय मात्र हो ।

कोरोना संक्रमण जोखिमका कारण ११ चैतबाट साउनसम्म लकडाउन भयो । त्यसयता संक्रमण देखिएका जिल्लाहरुमा लकडाउन र निषेधाज्ञा छ ।

महामारीले देशको सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्र डामाडोल बनायो । अझ ठूलो क्षति शैक्षिक क्षेत्रमा परेको छ । बजार खुला भएसँगै आर्थिक क्षेत्र चलायमान हुँदैछ । तर छ महिनायता शैक्षिक गतिविधि ठप्प हुँदा लाखौं युवाको सपनामा पूर्णबिराम लागेको छ । भविष्य अन्धकार बनेको छ ।

शैक्षिक गतिविधि ठप्प हुँदा देशका कर्णधार अलमलमा छन् । उच्च शिक्षा अध्ययनरत विद्यार्थीको पीडा बेग्लै छ ।

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई तनाव र अन्योलबाहेक अन्य विषय सिकाउन जानेन । परीक्षाका नाममा मनसिक तनाव सिर्जना गरेको छ । कहिले परीक्षा हुन्छ भन्दै हल्ला फैलाउँछ, फेरि तत्काल सकिन्न भन्ने सूचना निकाल्छ ।

विश्वविद्यायको सूचनाले लकडाउनमा घर गएका ग्रामीण क्षेत्रका विद्यार्थीलाई बढी प्रभावित गरेको छ ।

छ महिनायता स्कूल, कलेज बन्द छन् । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा प्रभावकारी नभए पनि सन्तोषजनक मान्न सकिन्छ ।

कोरोना महामारीले आर्थिक स्थिति मजबुद भएका र सम्पन्न परिवारलाई नै समस्यामा पारेको छ । विपन्न परिवारको अवस्था अझ दयानीय छ । एकपटक सोचौं त दैनिक मजदुरी गरेर गुजारा चलाउनेको अवस्था कस्तो होला ।

विद्यार्थीको अवस्थाका बारेमा सबै जानकार हुनुहुन्छ । अधिकांश विद्यार्थी गाउँबाट सहरमा भाडामा बसेर पढिरहेका छन् । विद्यार्थीलाई बिहान–बेलुका हातमुख जोड्नै मुस्किल छ । भाडा तिर्ने कसरी भन्ने तनाबले पिरोलिरहेको छ ।

भाडामा बस्ने विद्यार्थीका लागि सरकारले केही गरोस् । घरभाडा छुट भएमात्रै विद्यार्थीलाई धेरै राहत हुन्छ । भाडामा बस्ने विद्यार्थीले सरकार हाम्रा लागि पनि रहेछ भन्ने सोच्न पाउँछन् ।

भोलिका दिनमा त्रिभुवन विश्वविद्यालयले लिने अनावश्यक शुल्क खारेज गर्नु पर्छ । अहिलेको अवस्थामा विद्यार्थीसँग खेलकुद, पुस्तकालयलगायत शीर्षक र उपशीर्षकमा शुल्क उठाउने काम बन्द गरियोस् ।

युवा भविष्यका कर्णधार हुन् । भविष्यका कर्णधारको शिक्षाका निम्ति सरकारले बेलैमा ध्यान दिन सकोस् ।