गण्डकीमा थपिए ११ कोरोना संक्रमित

पोखरा, २३ भदौ । गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ६१२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँचजना छन् भने नवलपरासी (बर्दघाट सुस्तापूर्व)का छजना छन् । नवलपरासीका सबै संक्रमितलाई आइसोलेसन केन्द्र लगिसकिएको र कास्कीका संक्रमितलाई आइसोलेसन केन्द्र लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म ५२ हजार ५२५ जनाको पीसीआरको नमूना संकलन गरी परीक्षण गरिएको थियो । तीमध्ये संक्रमितको संख्या दुई हजार ६१२ छ भने ४९ हजार ९१३ जनामा संक्रमण देखिएको छैन । त्यस्तै सक्रिय संक्रमितको संख्या ८०७, निको हुनेको संख्या एक हजार ७८५ रहेको र २० जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्तासमेत रहेका डा. शर्माले बताए ।

Loading...