पहिरोले घर पुरिँदा एकको मृत्यु

काँस्की, २३ भदौ । अविरल वर्षासँगैको पहिराका कारण घर भत्किँदा जिल्लाको रुपा गाउँपालिकामा आज एकको मृत्यु भएको छ ।

रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४ः२५ बजेको समयमा आएको पहिराले ढुंगा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घरभन्दा अन्दाजी ५० मिटर माथिबाट आएको पहिराले घर पुरेको थियो । परिवारका अन्य सदस्य भने भाग्न सफल भएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भीरचोक तथा इलाका प्रहरी कार्यालय सिसुवाबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा शव बाहिर निकालिएको थियो ।

पहिराले स्थानीय हरिराम विक, चुडामणि सुनार र माया विकको घर जोखिममा रहेकाले उनीहरुलाई अन्यत्र व्यवस्थापनको तयारी गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

Loading...