नेशन्स लिग : साविक विजेता पोर्चुगल र स्वीडेन भिड्दै

एजेन्सी, २३ भदौ । यूईएफए नेशन्स लिगमा आज नौ खेल हुँदैछन् । समूह चरणको दोस्रो खेलअन्तर्गत आज १८ वटा राष्ट्रहरू प्रतिस्पर्धामा छन् ।

आज साविकको विजेता पोर्चुगलका साथै फ्रान्स, बेल्जियम, क्रोएशिया, इंग्ल्याण्ड र स्वीडेन पनि प्रतिस्पर्धामा छन् ।

डिफेन्डिङ च्याम्पियन पोर्चुगलले स्वीडेनसँग खेल्दैछ । नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुने उक्त खेल स्वीडेनको मैदानमा हुनेछ ।

फ्रेन्ड्स एरिनामा हुने यस खेलमा पोर्चुगल दोस्रो जितको खोजीमा छ भने स्वीडेन पहिलो जितको खोजीमा छ । यसअघि पोर्चुगलले क्रोएशियालाई हराउँदै समूह ‘सी’को शीर्ष स्थान बनाएको छ ।

स्वीडेन भने पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो ।

यता, अर्को खेलमा सोही समूहका फ्रान्स र क्रोएशिया प्रतिस्पर्धामा छन् । यो खेल फ्रान्सको मैदानमा राति १२ः३० बजेबाट नै सुरु हुनेछ ।

आज फ्रान्सलाई आफ्ना युवा स्ट्राइकर किलियन एम्बाप्पेको अभाव खड्किने छ । यसअघि स्वीडेनसँगको खेलमा निर्णायक गोल गरेका उनलाई सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणपछि उनी फ्रान्सको टोलीबाहिर छन् । त्यसबाहेक फ्रान्सका पल पोग्बा पनि कोरोना संक्रमणका कारण टोलीमा छैनन् ।

यस्तै आजको अर्को खेलमा इंग्ल्याण्ड र डेनमार्कले खेल्नेछन् । राति १२ः३० बजेबाटै सुरु हुने उक्त खेल डेनमार्कको मैदानमा हुनेछ । समूह ‘बी’मा इंग्ल्याण्ड दोस्रो तथा डेनमार्क चौथो स्थानमा छ ।

सोही समूहको शीर्ष स्थानमा रहेको बेल्जियमले आइसल्याण्डसँग खेल्दैछ । राति साढे १२ बजेबाट सुरु हुने उक्त खेल बेल्जियमको मैदानमा हुनेछन् ।

आज हुने खेलहरूः

  • अर्मानिया भर्सेस इस्टोनिया– राति ९ः४५ बजे
  • जर्जिया भर्सेस नर्थ मेसडोनिया– राति ९ः४५ बजे
  • बेल्जियम भर्सेस आइसल्याण्ड– राति १२ः३० बजे
  • फ्रान्स भर्सेस क्रोएशिया– राति १२ः३० बजे
  • साइप्रस भर्सेस अजरबैजान– राति १२ः३० बजे
  • स्वीडेन भर्सेस पोर्चुगल– राति १२ः३० बजे
  • लक्जम्बर्ग भर्सेस मोन्टेनेग्रो– राति १२ः३० बजे
  • डेनमार्क भर्सेस इंग्ल्याण्ड– राति १२ः३० बजे
  • सान मारिनो भर्सेस लेइच्टेनस्टने– राति १२ः३० बजे
Loading...