यी लक्षण देखा परे कोरोना भाइरसको शंका गर्नु पर्छ

विराटनगर, २३ भदौ । पछिल्लाे समय कोरोना भाइरस संक्रमणको शंकामा अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढ्दाे छ ।

कोरोना भाइरस र मौसमी फ्लुको लक्षण उस्तै हुने भएकाले बिरामीलाइ चिकित्सकले सुरुमा कोरोनाको परीक्षण गर्न लगाउछन् ।

कोशी अस्पतालका डा. राम साहले कोरोना भाइरस र मौसमी फ्लुको लक्षणहरू मिल्ने भएकाले रुघाखोकी लागेका बिरामीहरूमा एक प्रकारको डर बढिरहेको बताउँछन ।

मौसम परिवर्तन भइरहेको कारणले मौसमी रुघाखोकी देखापर्न सक्ने हुँदा रुघाखोकी वा सामान्य ज्वरो देखा पर्दैमा कोरोना भाइरस संक्रमणको आशंकामा परीक्षण गइहाल्नु नपर्ने डा. साह बताउँछन् ।

‘विषेशगरी १००.४ वा सोभन्दा बढी ज्वरो देखिएमा मात्र कोरोनाको परीक्षणका लागि स्वाब प्रयोगशालामा पठाउने गरिन्छ,’ उनले भने, ‘मौसम परिवर्तनको समय छ, धेरैजसोलाई सामान्य रुघाखोकी र ज्वरो देखिन सुरु भइसकेको छ, अहिले मौसमी फ्लु देखिनेबित्तिकै कोरोना परीक्षण गर्न आउनेको भीड बढिरहेको छ ।’

फ्लु र कोरोनाको लक्षण एउटै प्रकृतिको हुने भएकाले यसले मानिसहरूलाई भ्रममा पारिरहेको छ । फ्लुमा पनि ज्वरो आउँछ तर, कोरोनाको संक्रमणमा आउने ज्वरो १००.४ वा सोभन्दा बढि हुने भएकाले ज्वरो देखिएका बिरामीहरूलाई कोरोनाको आशंकामा सबैभन्दा पहिला कोरोनाको परीक्षण गर्न सल्लाह दिने गरेको डा. साह बताउँछन् ।

‘ज्वरो नभएर अन्य लक्षणहरू मात्र भएकालाई पहिला लक्षणअनुसारको औषधि उपचार गरिन्छ,’ उनले भने, ‘लक्षणहरू नघटेको खण्डमा कोरोनाको परीक्षण गर्न पठाउँछौ ।’

विराट मेडिकल कलेजका डा. पुरु कोइराला विराटनगरमा लकडाउन खुलेसँगै समुदायस्तरमा देखिएकाे काेराेनाकाे लक्षण मौसमी फ्लुसँग मिल्ने हुँदा मानिसमा त्रास फैलिएको बताउँछन ।

मौसम परिवर्तन भइरहेको कारणले रुघाखोकी वा सामान्य ज्वरो देखा पर्दैमा कोरोना भाइरसको परीक्षण गरिहाल्नु नपर्ने कुरामा डा. कोइराला सहमति जनाउँछन् ।

कुनै पनि व्यक्तिमा तीनदेखि चार दिनसम्म ज्वरो, खोकी, जिउ दुखेको, झाडापखाला तथा स्वासप्रस्वासमा समस्या देखिएमात्र कोरोना भाइरस छ कि भनेर शंका गर्नु आवश्यक रहेको डा. कोइराला बताउँछन् ।

‘अस्पाल आएका ५० प्रतिशत बिरामीहरू लक्षणसहित आएका हुन्छन् । तर, अन्यमा केही लक्षण नदेखिए पनि निमोनियाको समस्या हुने गरेको पाइएको छ । उनले भने, ‘कोरोना संक्रमितको नजिकको सम्पर्कमा आएका व्यक्ति तथा ज्वरो, खोकी, जिउ दुखेको, झाडापखाला तथा स्वासप्रस्वासमा समस्या देखिएकालाई मात्रै परीक्षण गर्ने हो ।’

पीसीआरको रिपोर्ट ढिलो आउने हुँदा अन्य रुघाखोकी तथा निमोनियका बिरामीलाई सिटीस्क्यान गरेर रोगको गम्भीरता बुझी नियमित उपचार गराउने वा अलग्गै राखी उपचार गरिन्छ ।

‘अहिलेको मौसमी रुघाखोकीको समय पनि हो । यस्तो बेला सामान्य रुघाखोकी र ज्वरो आउनु स्वभाविक हो । जसले पीसीआर परीक्षणको मिसयुज भइरहेको छ,’ डा. कोइरालाले भने, ‘ज्वरो आएका, झाडापखाला, सास फेर्न गाह्रो भएमा वा पहिलेको भन्दा फरक लक्षण देखिएका मानिसहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ र यी केसहरूमा ८० प्रतिशत पोजिटिभ आउने सम्भावना हुन सक्छ ।’

यी लक्षणहरू देखा परे कोरोना भाइरसको शंका गर्नु पर्छ

कोरोना भाइरसको लक्षण पनि अन्य फ्लुसँग मिल्दोजुल्दो भएकोले मानिसहरूलाई संक्रमित भएकोजस्तो शंका लाग्नु स्वभाविक भएको चिकित्सकहरू बताउँछन् । तर, १००.४ वा सोभन्दा धेरै ज्वरो आएमा, खोकी लागेमा, जिउ दुखेमा, झाडापखाला लागेमा, छाती दुखेको वा पहिले कहिले नभएको स्वासप्रस्वासमा समस्याहरू भएको महसुस भए मात्रै कोरोना भाइरसको संक्रमण हुन सक्ने चिकित्सकहरू बताउँछन् । तर, त्यसमा पनि संक्रमित व्यक्ति तथा संक्रमण फैलिएको ठाउँसँग समपर्क भएमात्रै कोरोना भाइरसको शंका गरिन्छ ।

Loading...