विराट मेडिकल कलेजमा संक्रमितको उपचार निःशुल्क

विराटनगर, २३ भदौ । विराट मेडिकल कलेजले कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएपछि मोरङको बुढीगंगा गाउँपालिका– २ टंकिसिनवारीमा रहेको कलेजले कोरोना संक्रमितको उपचार निःशुल्क गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएपछि अस्पतालले सोमबारबाट कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको अस्पतालको विराट मेडिकल कलेजका उपाध्यक्ष डेनिस कार्कीले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमितले कलेजबाट अन्य परीक्षण गराएको अवस्थामा भने शुल्क लाग्ने छ ।

विराट मेडिकल कलेजले ३१ साउनबाट ६० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । तीमध्ये ३८ साधारण र २२ क्याबिन बेड छन् ।

संक्रमितको उपचारका लागि अस्पतालले छवटा भेन्टिलेटर तयारी अवस्थामा राखेको छ । आवश्यक परेको अवस्थामा भेन्टिलेटर थप गर्न सकिने अस्पतालले जनाएको छ ।

‘संक्रमितले सिटीस्क्यान, रगत जाँचलगायत अन्य जाँच गर्दा शुल्क लाग्छ ।’ विराट मेडिकल कलेज कोभिड म्यानेजमेन्ट टिमका सदस्य प्रमेशराज देवकोटाले भने, ‘बेड चार्ज निःशुल्क छ ।’

विराट मेडिकल कलेजमा २९ जना कोरोना संक्रमित भर्ना भएका थिए । तीमध्ये १६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको कलेजले पीसीआर मेसिन जडान गरी सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

Loading...