सबै सरकारी प्रयोगशालामा कोरोना भाइरस परीक्षण गर्न पाइने

विराटनगर, २३ भदौ । अब सबै सरकारी प्रयोगशालामा कोरोना भाइरस परीक्षण गर्न पाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणले शुल्क तिरेर जुनसुकै बेलामा पनि सबै सरकारी प्रयोगशालामा कोरोना भाइरस परीक्षण गर्न पाउने निर्णय गरेको हो । सरकारले लक्षण देखिएका, संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका तथा अग्रपंक्तिमा खटिने व्यक्तिहरूको निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको छ ।

तर, अब शंका लागेका तथा परीक्षण गर्न खोज्ने सबै मानिसहरूले सबै सरकारी प्रयोगशालाबाट शुल्क तिरेर परीक्षण गर्न पाउने छन् । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार यसअघि पैसा तिरेर परीक्षण गर्न पाउने नौवटा प्रयोगशालासहित ३४ वटै सरकारी प्रयोगशालामा परीक्षण बिस्तार गरिएको छ ।

अब शुल्क तिरेर सबै प्रयोगशालामा परीक्षण हुने भए पनि दैनिक गरिने कुल परीक्षणको आधा मात्रै शुल्क लिएर गर्न पाउने गरी निर्णय गरिएको डा. अधिकारीको भनाइ छ ।

सरकारले कोरोना भाइरस परीक्षणको शुल्क अधिकतम चार हजार चार सय रुपैयाँ तोकेको छ ।

Loading...