प्रदेश १ मा कुन जिल्लामा कति भयो परीक्षण ?

विराटनगर, २३ भदौ । १४ जिल्ला रहेको प्रदेश १ मा हालसम्म एक लाख तीन सय ४८ जनाको स्वाब संकलन गर्दै पीसीआर परीक्षण गरिएको छ ।

कोरोना भाइरस संक्रमणका शंकास्पदलाई परीक्षणको दायरामा ल्याउँदा हालसम्म चार हजार एक सय ७७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ९६ हजार एक सय ७१ जनाको रिपोर्ट नेगेभिट आएको छ ।

सोमबार मात्रै एक हजार आठ सय ६० जनाको परीक्षण भएकोमा एक सय ५५ जनाको रिपोर्ट पोजेटिभ र एक हजार सात सय पाँच जनाको नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी मोरङमा ३१ हजार दुई ६७ जनाको परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये दुई हजार ४५ जनामा कोरोना संक्रमण देखिएको छ भने २९ हजार दुई सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

विराटनगरमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिँदै ।

अहिलेसम्म सबैभन्दा कम सोलुखुम्बुमा दुई सय ७१ जनाको परीक्षण भएको छ । परीक्षण भएकामध्ये सात जनाको रिपोर्ट पोजेटिभ र दुई सय ६४ जनाको नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

सुनसरीमा २३ हजार छ सय ६९ जनाको परीक्ष हुँदा एक हजार ५० जनाको रिपोर्ट पोजेटिभ आएको छ । २२ हजार छ सय १९ जनामा कोरोना देखिएन । झापामा २३ हजार पाँच सय ८५ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएकामध्ये २२ हजार नौ सय जनाको रिपोर्ट नेगेटिभ र छ सय ८५ जनाको पोजेटिभ आएको छ ।

धनकुटामा एक हजार सात सय ७८ जनाको परीक्षण सम्पन्न भएको छ । जसमा ४० जनाको रिपोर्ट पोजेटिभ र एक हजार सात सय ३८ जनाको नेगेटिभ आएको । भोजपुरमा एक हजार ५३ जनाको परीक्षण हुँदा १२ जनाको पोजेटिभ आएको छ । एक हजार ४१ जनामा कोरोना देखिएन ।

खोटाङमा एक हजार एक सय ३३ जनाको परीक्ष हुँदा १६ जनाको पोजेटिभ र एक हजार एक सय १७ जनाको नेगेटिभ रिपोर्ट आएको छ । उदयपुरमा सात हजार तीन सय ४८ जनाको पीसीआर परीक्षण भएको छ । जसमा एक सय ११ जनाको पोजेटिभ र सात हजार दुई सय ३७ जनाको नेगेटिभ रिपोर्ट आएको छ ।

संखुवासभामा नौ सय ६६ जनाको परीक्षण भएकोमा ३८ जनामा मात्रै कोरोना पुष्टि भयो । नौ सय २८ जनामा संक्रमण देखिएन । तेह्रथुममा एक हजार छ सय आठ जनाको परीक्षण भएको छ । जसमा २७ जनामा संक्रमण पुष्टि भयो भने एक हजार पाँच सय ८१ जनाको रिपोर्ट नेगेटिभ आयो ।

इलाममा चार हजार दुई सय ५६ जनाको स्वाब संकलन गरेर परीक्षण गराउँदा चार हजार एक सय ६६ जनाको नेगेटिभ र ९० जनाको पोजेटिभ रिपोर्ट आयो । पाँचथरमा हालसम्म दुई हजार एक सय ७१ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये २१ जनाको रिपोर्ट पोजेटिभ र दुई हजार एक सय ५० जनाको नेगेटिभ आएको छ ।

ताप्लेजुङमा पाँच सय ७१ जनाको परीक्षण हुँदा आठ जनामा कोरोना देखियो । पाँच सय ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ओखलढुंगामा छ सय ७१ जनाको परीक्षण हुँदा २६जनामा कोरोना देखियो । छ सय ४५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशमा चारवटा प्रयोगशाला (ल्याब)बाट धमाधम पीसीआर परीक्षणको काम हुँदै आएको मन्त्रालयका कोभिड–१९ निगरानी तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. सरोजप्रसाद विशालले जानकारी दिए । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र झापास्थित मेची अस्पतालबाट परीक्षण भइरहेको छ ।

बीपीमा २०७६ चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा २०७७ वैशाख १९ र मेची अस्पतालमा साउन ३० गतेबाट पीसीआर परीक्षण सुरु भएको डा. विशालले जानकारी दिए । उनका अनुसार विभिन्न प्रयोगशालामध्ये सबैभन्दा बढी स्वाबको परीक्षण बीपीमा भएको छ । डा. विशालले ढिलो गरी केही समयअघि मात्रै सञ्चालनमा ल्याइएका कारण मेची अस्पताल प्रयोगशालाबाट भने कम परीक्षण भएको जानकारी दिए ।

हालसम्म बीपीबाट ४० हजार छ सय ४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार तीन सय ४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार चार सय ३६, मेची अस्पताल झापाबाट दुई हजार आठ सय ९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको उनको भनाइ छ ।

Loading...