एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, २३ भदौ । फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फ्रान्स फुटबल महासंघले विज्ञप्ति जारी गर्दै यूईएफए नेशन्स लिग खेलिरहेका एम्बाप्पेलाई संक्रमण पुष्टि भएको जनाएको हो ।

‘सोमबार गरिएको कोरोना परीक्षणमा एम्बाप्पेलाई संक्रमण देखिएको छ,’ मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ, ‘हाल उनी फ्रान्सको टोली बाहिर रहेर आइसोलेशनमा बसेका छन् ।’

कोरोना संक्रमण भएसँगै पीएसजीका स्टार एम्बाप्पेले नेशन्स लिगअन्तर्गत आज हुन लागेको क्रोएशियासँगको खेल गुमाउने भएका छन् । फ्रान्सले समूह चरणकाे दोस्रो खेलमा क्राेएशियासँग खेल्न लागेकाे हाे ।

यसअघि पहिलो खेलमा फ्रान्सले स्वीडेनमाथि जित निकालेकाे थियो, जसमा एम्बाप्पेले नै निर्णायक गाेल गरेका थिए ।

उनीसँगै पीएसजीका सात खेलाडीमा कोरोना पुष्टि भएको छ । अघिल्लो साता पीएसजीका स्टार नेयमारसहित ६ खेलाडीमा संक्रमण देखिएको थियो ।

Loading...