डोनाल्ड ट्रम्प रंगभेदी : कोहेन

विराटनगर, २३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रंगभेदीको आरोप लागेको छ ।

उनकै पूर्व वकिल माइकल कोहेनले ट्रम्पले रंगभेदी र लुटेरा (डाँकू) जस्तो व्यवहार देखाएको आरोप लगाएका हुन् । उनले ट्रम्पलाई गलत व्यवहार भएको व्यक्तिका रुपमा चित्रित गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

कोहेनले आफ्नो नयाँ पुस्तकमा राष्ट्रपतिले ‘अश्वेत व्यक्तिप्रति तल्लो तहको विचार व्यक्त गर्ने’ र व्यवहार लुटेराको जस्तो देखाउने गरेको उल्लेख गरेका हुन् । कोहेनले ‘डिसलोयलः अ मेमोअर’ नाम गरेको पुस्तक जेलमा रहेका बेला लेखेका हुन् । ट्रम्पको चुनावी अभियानको वित्तिय नियम उल्लंघनसहितका अपराधका लागि कोहेनले जेल सजाय पाएका हुन् ।

ट्रम्पले नेल्शन मण्डेला तथा हिस्पेसिन समुदायलाई लक्षित गरेर पनि रंगभेदी टिप्पणी गरेको दाबी कोहेनले पुस्तकमा गरेपछि यो विषयले यतिबेला अमेरिकामा व्यापक चर्चा पाएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने कोहेनले झुट कुरा उल्लेख गरेको प्रतिक्रिया दिएको छ ।

ह्याइट हाउसकी प्रवक्ता केली म्याकनेनीले विश्वसनीयता गुमाएका कोहेन झुटबाट पुनः मुनाफा लिने प्रयासमा रहेको उल्लेख गरेकी छन् । पुस्तकमा कोहेनले आफूलाई जुन अपराधका कारण जेल सजाय भयो ट्रम्प पनि सोही अपराधका दोषी रहेको उल्लेख गरेका छन् । ट्रम्पको मानसिकता ‘लुटेरा समूहको नाइके’ जस्तो रहेको कोहेनले पुस्तकमा उल्लेख गरेका छन् ।

कोहेनले आफ्नो पुस्तक आज (मंगलबार) सार्वजनिक गर्दैछन् । अमेरिकाका विभिन्न सञ्चारमाध्यमले पुस्तकमा उल्लेख कुरालाई समाचार बनाएर बाहिर ल्याएपछि कोहेनसँग ट्रम्प बिच्किएका छन् ।

कोहेनले अश्वेत मानिसप्रति निकै तल्लो तहको विचार ट्रम्पले राख्ने गरेको र उनीहरुको संगीतदेखि संस्कृति र राजनीतिलाई समेत गलत ढंगले व्याख्या गर्ने गरेको दाबी गरेका छन् । ट्रम्पले दिवंगत दक्षिण अफ्रिकी राष्ट्रपति तथा रंगभेदी आन्दोलनका नेता नेल्सन मण्डेला ‘नेता नै नरहेको’ बताएको पुस्तकमा उल्लेख छ ।

कोहेनले पुस्तकमा उल्लेख गरेका शब्द ट्रम्पले सन् २०१८ मा अफ्रिकी देशलाई इंगित गरेर प्रयोग गरेको शब्दसँग मेल खान्छ । ट्रम्पले त्यो बेला अफ्रिकी देशलाई ‘सिटहोल’ भनेका थिए ।

Loading...