सावधान ! बालबालिका खेलिरहेका पनि हुन सक्छन्

विराटनगर, २३ भदौ । कुनै काम गरिरहेका बेला वरपर अवोध बालबालिका खेलिरहेका वा दौडिरहेका पनि हुन सक्छन् ।

त्यसैले काम गर्दा एकदमनै विचार पुर्याउँदै सावधानी अपनाउनु पर्ने हुन्छ । नत्र काम गर्ने ध्याउन्नमा मात्रै केन्द्रीत भएर नतिजा निकाल्न खोज्दा परिस्थिति उल्टो पनि बनिदिन सक्छ । विचार नपुर्याई बिनासावधानी काम निकाल्न खोज्दा ज्यानै जाने घटना भएर मानवीय क्षति पनि निम्तन सक्छ । मोरङको धनपालथान गाउँपालिका–३ चेका टोलमा असावधानीका कारण एउटा त्यस्तै घटना हुन पुग्यो ।

विजय ऋषिदेवका ६ वर्षीय नाबालक छोरा बसिकरण ऋषिदेव सोमबार दिउँसो १२ बजेतिर घरकै आँगनमा खेलिरहेका थिए । त्यत्तिकैमा काका २२ वर्षीय सुनिल ऋषिदेव छिमेकी २१ वर्षीय ललित ऋषिदेवको सहयोगमा जंगलबाट रुखको सुकेको मुडो लिएर आइपुगे । घरमा दाउराको रुपमा प्रयोग गर्न सुनिल र ललित मिलेर झुनझुना प्रजातिको रुखको मुडो लिएर आएका थिए । तर जंगलबाट दुःख गरेर दुई जनाले मरिमरि बोकेर घरमा ल्याइपुर्याएको त्यही मुडो सुनिलका नाबालक भतिज बसिकरणका लागि काल बनेर आइदियो ।

उक्त मुडोले लागेर अवोध बालकको ज्यान गयो । दुवै जनाले एकै पटक बिसाउने क्रममा मुडो भुइँमा फ्याल्दा उछिट्टिएर अवोधको टाउकोमा लाग्यो । घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि कार्सियास्थित क्लिनिकमा पुर्याएको केही बेरमै दिउँसो १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको टाउकोमा लागेको मुडो हेर्दै स्थानीय र प्रहरी ।

‘बालक आफ्नै धुनमा खेलिरहेका बेला काकासहित दुई जना सुकेको मुडो लिएर जंगलबाट आइपुगेछन् । आँगनमा राख्नुअघि बालकलाई खेलिरहेको ठाउँबाट हटाउन खोजेको पनि पाइयो,’ इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले भने, ‘तर अलिपर गएका बालक खेल्दै त्यहीँ आइपुगेपछि भुइँमा फ्याल्ने क्रममा बजारिएको मुडोले अचानक टाउकोमा लाग्यो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भयो ।’

प्रहरीले काका र छिमेकी युवाकै असावधानीका कारण नाबालकको ज्यान गएको बताएको छ । ‘ससाना अवोध बालबालिकालाई के गर्दा के हुन्छ र कसरी क्षति हुन्छ तथा आफू कसरी सुरक्षित रहन सकिन्छ भन्ने हेक्का हुँदैन,’ प्रनि दाहालले भने, ‘त्यही भएर घर वा काहीँ बालबालिका रहेका ठाउँमा केही काम गर्दा ठूला मान्छेले एकदमनै विचार पुर्याउनु पर्ने हुन्छ ।’

सावधानी नअपनाइकन काम गरेमा सबै कुरा थाहा पाउन नसक्ने उमेरका बालबालिकाको ज्यानै जाने यस्तै अकल्पनीय घटना हुन सक्ने उनको भनाइ छ । दाहालले केही काम गर्दा वा सवारी साधन चलाउँदा वरपर बालबालिका भए/नभएको विचार पुर्याउँदा यस्ता क्षति हुन नपाउने जनाए ।

घटनापछि नाबालकका काका सुनिल र छिमेकी ललित फरार बनेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेर फरार भएकाको खोजी गर्दै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दाहालले दिए ।

मृतक नाबालकका बुवा विजयले भने जानिजानि घटना नभएको भन्दै आफ्नै भाई र छिमेकी युवाविरुद्ध प्रहरीमा जाहेरी दिन मानिरहेका थिएनन् । निक्कै बेरपछि उनले पोस्टमार्टमको जाहेरी दिए । ‘जानेर नभइकन अञ्जानमा घटना हुन पुग्यो । मेरो छोराको दिन यतिनै रहेछ भनेर चित्त बुझाउनु बाहेक अर्को विकल्प मसँग रहेन,’ उनले भने, ‘त्यही भएर यसलाई मुद्दा मामिलाका रुपमा लैजान आवश्यक देख्दिन । आखिर जानिजाति घटना गराएको भए कारबाही अघि बढाउनलाई समस्या थिएन ।’

तर प्रहरीले भने घटना असावधानीबस भएको भन्दै कानुन अनुसार कारबाही अघि बढ्ने जनाएको छ । ‘असावधानीले नाबालकको ज्यान गएकाले यो कानुनको विषय हो,’ प्रनि दाहालले भने, ‘आँगनमा नाबालक खेलिरहेको कुरा विचार नगरिकन रुखको हाँगा फ्यालेर घटना भएका कारण भवितव्य ज्यान मुद्दामा घटनाको अनुसन्धान अघि बढाइने छ ।’

Loading...