नेदरल्याण्ड्सलाई हराउँदै इटाली शीर्ष स्थानमा

एजेन्सी, २३ भदौ । यूईएफए नेशन्स लिगमा इटालीले साँघुरो जित निकालेको छ । सोमबार राति भएको समूह चरणको दोस्रो खेलमा इटालीले साविक उपविजेता नेदरल्याण्ड्समाथि १–० गोलको जित निकालेको हो ।

नेदरल्याण्ड्सको मैदानमा भएको खेलमा घरेलु टोलीलाई हराउन निकोलो बरेल्लाले निर्णायक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा उनले गरेको गोल नै इटालीलाई जिताउन निर्णायक बन्यो ।

यससँगै इटालीले नेशन्स लिगमा पहिलो जित निकाल्यो । समूह ‘ए’ मा रहेको इटालीले ४ अंकका साथ शीर्ष स्थान बनायो । यसअघि उसले बोस्नियासँग १–१ गोलको बराबरी खेलेको थियो ।

गए राति नै भएको अर्को खेलमा सोही समूहका पोल्याण्डले बोस्नियामाथि २–१ गोलको जित निकाल्यो ।

Loading...