साक्षर नेपाल घोषणामा कठिनाइ

विराटनगर, २३ भदौ । नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा विलम्ब हुन सक्ने देखिएको छ । सरकारले यस वर्षको बजेट भाषण मार्फत साक्षर हुन बाँकी २४ जिल्ला अभियानका रूपमा सञ्चालन गरी साक्षर नेपाल घोषणा गरिने सार्वजनिक गरेको थियो ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमण न्यून भएको अवस्थामा मात्र यसलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए । साक्षरता अभियानमा स्थानीय तहलाई जिम्मेवार बनाई कार्यक्रम सञ्चालन गरिनेछ । करिब ७८ लाख निरक्षर नागरिकलाई साक्षर बनाउने भन्ने उद्देश्यले आर्थिक वर्ष २०६५l६६ मा साक्षरता अभियान घोषणा गरिएको भए पनि अझै त्यो लक्ष्य पूरा हुन सकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सेप्टेम्बर ८ (भदौ २३ गते) अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रम मात्रै गर्ने भएको छ । यसअघि सोही दिन राष्ट्रिय शिक्षा दिवसको कार्यक्रमसमेत गर्ने गरिएकोमा यस वर्षबाट शिक्षा दिवसलाई अलग्गै मनाउने तयारी गरिएको जानकारी मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...