कोरोनाविरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने

एजेन्सी, २२ भदाै । रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशहरूमा पनि परीक्षण गरिने भएको छ ।

स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरूले जनाएका छन् ।

रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारतबाहेक साउदी अरब, यूएई, फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।

यो खोपको पहिलो र दास्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उनले बताए ।

यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा आउनसक्ने उनले जानकारी दिए ।

सो कोषले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो । सो घोषणासँगै विश्वभरि आशा र खुशीयाली छाएको थियो ।

अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ ।

Loading...