सीपीएलमा सन्दीपको प्रदर्शन : समूह चरणमा खेलैपिच्छे विकेट

एजेन्सी, २२ भदौ । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । ट्रिनिडाडमा जारी सीपीएलको समूह चरणका सबै खेलमा उनले खेलैपिच्छे विकेट लिएका थिए ।

जमैका तलावाजबाट खेल्दै आएका उनले ९ खेलबाट १२ विकेट लिएका थिए । जमैकाले एक खेलमा भने वर्षाका कारण खेल रोकिएपछि बराबरी अंक बाँडेको थियो ।

आइतबार रातिबाट सीपीएलको समूह चरणको सबै खेलहरू सकिए । सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले दश–दश वटा खेल खेलेका थिए । सेन्ट किट्सविरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो । उक्त खेलमा सन्दीपले बलिङ गर्न पाएनन् ।

बाँकी नौ वटा खेलमा भने उनले खेलैपिच्छे विकेट लिए । सन्दीपको बलमा विपक्षी खेलाडीहरूले खुलेर रन बनाउन सकेनन् । उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरे ।

जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाए । जमैका समूह चरणका १० खेलमध्ये तीनमा जित तथा ६ वटामा हारका साथ ७ अंक बटुल्दै अंक तालिकाको चौथो स्थानमा खुम्चियो । यद्दपी सन्दीपले भने जमैकाका लागि कसिलो बलिङ गरे ।

सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए । उक्त खेलमा उनले चार ओभरमा २३ रन खर्चिए । सो खेल जमैकाले ५ विकेटले जित्यो ।

यस्तै दोस्रो खेलमा समेत सन्दीपले एक विकेट लिए । उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको उक्त खेलमा ४ ओभरमा ३० रन दिए । उक्त खेल राइडर्सले सात विकेटले जितेको थियो ।

गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए । उनले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिए । उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल देखाए । तर सो खेलमा जमैका १४ रनले पराजित भयो ।

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिए । गुएना अमेजन वारियर्सविरुद्धको उक्त खेलमा उनले चार ओभरमा मात्र १२ रन खर्चिए । सो खेलमा जमैका पाँच विकेटले विजयी भयो ।

यसैगरी पाँचौ खेलमा सन्दीपले दुई विकेट लिए । बार्बाडोस ट्राइडेन्ससितको सो खेलमा उनले ४ ओभरमा १६ रन दिए ।सो खेलमा जमैका ३६ रनले पराजित हुन पुग्यो ।

यस्तै सेन्ट किट्सविरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिए । सो खेलमा उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए । उक्त खेलमा जमैका ३७ रनले विजयी भयो ।

सातौँ खेलमा सन्दीपले एक विकेट लिए । ट्रिनबागो नाइट राइडर्सविरुद्धको सो खेलमा उनले चार ओभर बलिङ गर्दै २० रन दिए ।सो खेलमा ट्रिनबागोले जमैकालाई १९ रनले पराजित गरेको थियो ।

यस्तै सेन्ट किट्सविरुद्धको आठौँ खेलमा सन्दीपले जमैकाका लागि बलिङ गर्न पाएनन् । उक्त खेल वर्षाका कारण रद्द भएको थियो । तर नवौँ खेलमा भने सन्दीपले एक विकेट लिन सफल भए ।

बार्बाडोस ट्राइडेन्सविरुद्धको सो खेलमा उनले चार ओभर बलिङ गदै २६ रन दिए । उक्त खेलमा जमैका सात विकेटले पराजित हुनपुग्यो ।

समूह चरणको अन्तिम खेलमा सन्दीपले निकै किफायती बलिङ गरे । सेन्ट लुसिया विरुद्धको खेलमा उनले चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिए । तर उनको टोली जमैका भने उक्त खेलमा ११ रनले पराजित भयो ।

सन्दीपको टोली जमैकाले अब मंगलबार सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । उक्त खेलमा हालसम्मको खेल प्रदर्शनको आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ ।

जमैकाले बलिङ लाइन सन्दीपमाथि निर्भर रहने गरेको छ । उनले विपक्षी खेलाडीलाई खुलेर रन बटुल्न दिएका छैनन् । सन्दीप र अफगानिस्तानका युवा खेलाडी मुजिबउर रहमानले जसरी जमैकालाई बलिङमा साथ दिँदै आएको छन् ।

त्यसैगरी ब्याटिङ लाइन बलियो भएमा जमैकाले सेमिफाइनलमा जित्न सक्ने अनुमान गरिएको छ ।

Loading...