मस्तिष्क कार्यमा सुधार गर्न २० मिनेटको योग अभ्यास

विराटनगर, २२ भदौ । २० मिनेटको योग अभ्यासले मात्र पनि मस्तिष्क कार्यमा तुरुन्त सुधार गर्न सक्ने अध्ययनले देखाएको छ ।

शारीरिक गतिविधि र स्वास्थ्य जर्नलमा रिपोर्ट गरिएको अध्ययनमा २० मिनेटको योग अभ्यास गरेपछि ध्यान केन्द्रित गर्न र नयाँ जानकारीको प्रयोग गर्ने क्षमतामा तुरुन्त सुधार भएको देखियो ।

इलिनोइस विश्वविद्यालयका अन्वेषकहरूले समान समयका लागि मध्यमदेखि कडा खाल्को एरोबिक व्यायामको तुलनामा सहभागीहरूले योगको अभ्यासपछि राम्रो प्रदर्शन गरेको बताएका छन् ।

अध्ययन स्नातक तहका ३० महिला विद्यार्थीहरूमा गरिएको थियो । सहभागीहरूलाई २० मिनेट योग अभ्यास र २० मिनेटको लागि एरोबिक व्यायाम वा ट्रेडमिलमा जग्गिङ गर्न लगाइएको थियो ।

अध्ययनको नेतृत्व गरेकी नेहा गोथ र उनको टिमले एरोबिक व्यायामको तुलनामा योग अभ्यासपछि सहभागीहरूमा तत्काल संज्ञानात्मक कार्यहरूमा सुधार आएको पत्ता लगाएका छन् ।

योग अभ्यासपछि, सहभागीहरूमा ध्यान केन्द्रित गर्न, सूचनाहरूलाई छिटो, सही रूपमा प्रक्रिया गर्न र एरोबिक व्यायामको तुलनामा सूचनालाई अझ प्रभावकारी रूपमा सिक्न र बुझ्न सक्षम भएको देखिएको थियो ।

ध्यानयुक्त व्यायामले ल्याउने आत्म-जागरूकता तथा धेरै कारकहरूले परिणामलाई वर्णन गर्न सक्ने नेहा बताउँछिन् ।

ध्यान र श्वासप्रश्वाससम्बन्धी व्यायाम एन्जाइटी र तनाव कम गर्न पनि परिचित छन्, जसले परिणामस्वरूप केही संज्ञानात्मक कार्यहरूलाई सुधार गर्न सक्छन् ।

Loading...