Rumpum Advertisement

नेपालसहित ९२ देशलाई कोभिड-१९ विरुद्ध खोप किन्न युनिसेफले सहयोग गर्ने

नेपालसहित ९२ देशलाई कोभिड-१९ विरुद्ध खोप किन्न युनिसेफले सहयोग गर्ने

एजेन्सी, २२ भदौ । युनिसेफले नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशमा कोरोना भाइरसविरुद्धको खोपको आपूर्तिमा सहयोग गर्ने भएको छ ।

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप बजारमा आउनेबित्तिकै विश्वभरि आपूर्ति गर्न कठिन चुनौतीमाझ विज्ञप्ति जारी गर्दै युनिसेफले कोभ्याक्स सुविधाको तर्फबाट ९२ देशहरूका निम्ति खोप खरिद गरी आपूर्ति गर्ने जनाएको हो ।

विश्वव्यापी मञ्चको रूपमा गठन गरिएको कोभ्याक्समा कोभिड-१९ सम्बन्धी विभिन्न खोप निर्माताहरूले बनाइरहेका विभिन्न खोपको अनुसन्धान, विकास, उत्पादनमा सहयोग पुर्‍याउने तथा खोपको मूल्य निर्धारण गरिन्छ ।

कोभ्याक्समा सहभागी सबै देशले खोपको विकास हुनेबित्तिकै समान पहुँच पाउने छन् । युनिसेफले हालसम्म संचालित विश्वकै सबभन्दा ठूलो र तीव्र संयन्त्रमा कोभिड-१९ को खोप खरिद तथा आपूर्तिको नेतृत्व गर्ने बताइएको छ ।

युनिसेफले विश्व स्वास्थ्य संगठन, खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभी, विश्व बैंक, प्यान अमेरिकी स्वास्थ्य संगठन, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनलगायतका संस्थासँग सहकार्य गर्दै छ ।

युनिसेफसहित साझेदारहरूले अहिले खोपका निम्ति आवश्यक पर्ने सुरक्षित सुई तथा चिसो राख्नका निम्ति आवश्यक उपकरण जोहो गर्ने, उचित ओसारपसार, भण्डारण र वितरणसम्बन्धी निर्देशिका र तालिम गर्ने, छिटोछरितो ढुवानी अनि जोखिममा परेकाहरूका निम्ति खोप लक्षित गर्ने विषयमा तयारीहरू गरिरहेको छ ।