बाघको आक्रमणबाट एकको मृत्यु

चितवन, २२ भदाै । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव आज दिउँसो भेटिएको हो । उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ । घटना स्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उनले जानकारी दिए ।

घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्तीसहित घटना स्थलमा पुगेका थिए । रासस

Loading...