कोरोना नियन्त्रणमा रंगेली मोडल : एक महिनामा संक्रमण शून्य

विराटनगर, २२ भदौ । गत १९ साउनमा २२ जनामा कोरोना संक्रमण देखिएपछि रंगेली नगरपालिकामा त्रास फैलियो । रंगेली नगरपालिका–७ बजार क्षेत्रका एकै परिवारका १४, विद्युत प्राधिकरण र जिल्ला अस्पतालका कर्मचारीलाई संक्रमण देखिएपछि त्रसित बनेको रंगेली पछिल्लो समय तनावमुक्त बनेको छ ।

समुदायमा देखिएको संक्रमण एक महिनाभित्रै नियन्त्रणमा आएपछि रंगेली तनावमुक्त भएको हो । एक महिनाभित्र समुदायस्तरमा देखिएको संक्रमण कसरी नियन्त्रणमा आयो ? रंगेली नगरपालिका मेयर दिलिप बगडीया भन्छन्, ‘हाम्रो प्रयास र नगरबासीको साथले गर्दा सम्भव भयो ।’

एकै पटक २२ जनालाई कोरोना पोजेटिभ देखिएपछि रंगेली बजार क्षेत्र सिल गरियो । सिल कार्यान्यनमा प्रशासनलाई स्थानीयबासीले पनि सहयोग गरे ।

लकडाउनपछि नगरपालिकाले परीक्षण ब्यापक बनायो । संक्रमण देखिएकाहरूलाई राख्न छुट्टै आइसोलेशन सेन्टर बनायो ।

१९ साउनमा विराटनगरमा पनि संक्रमण दर बढ्दै थियो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेश सरकारले असहयोग गरेको गुनासो गरिरहँदा रंगेली नगरपालिकाका मेयर दीलिप बगडीया छुट्टै आइसोलेशन सेन्टर बनाउन जुटे । रंगेली बजारमा रहेको जनता क्याम्पसलाई होल्डिङ आइसोलेशन सेन्टर बनाइयो ।

प्रदेश सरकारले निर्माण गरेको आइसोलेशन भरिएपछि संक्रमितलाई नगरपालिकाले होल्डिङ आइसोलेशनमा राख्यो । जनता क्याम्पस त्यसअघि क्वारेन्टाइनको रूपमा प्रयोग हुँदै आएको थियो । आइसोलेशन बनाएपछि सामान्य उपचारका लागि जिल्ला अस्पताल रंगेलीको टोली खटियो ।

‘संक्रमिण देखिनेबितिकै आइसोलेशनमा राख्यौं, लकडाउनमा परीक्षण ब्यापक बनायौं,’ मेयर बगडीया भन्छन्, ‘पोजेटिभ देखिएका व्यक्तिलाई छुट्टै राखेकाले समुदायमा फैलन पाएन्, परीक्षण ब्यापक भएकाले संक्रमण नियन्त्रणमा आयो ।’

समुदायस्तरमा संक्रमण देखिएको रंगेली नगरपालिकामा २२२ जनालाई संक्रमण देखिएको थियो । तीमध्ये वडा नम्बर–७ मा मात्रै ६१ जना छन् ।

लकडाउन सुरु भएयता सतर्कता अपनाएको रंगेलीले पुनः समुदायमा संक्रमण फैलन नदिने योजना बनाएको छ । भारतसँग सीमा जोडिएको क्षेत्रमा सुरक्षाकर्मीले निगरानी बढाएका छन् । सर्वसाधारण पनि सचेत भएका छन् ।

‘कतैबाट गाउँमा नयाँ मान्छे आएको छ भने जानकारी आइहाल्छ,’  रंगेली नगरपालिका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डल भन्छन् , ‘हामी ल्याएर क्वारेन्टाइनमा राख्छौं ।’

संक्रमण नियन्त्रणमा लागि रंगेली नगरपालिकाका मेयर दीलिप बगडीयासहित नगरपालिकाको टिम लागेको थियो । ‘नगरपालिकाको टिम २४ सै घण्टा खटिएको थियो,’ मण्डलले भने, ‘निरन्तरको प्रयासले नियन्त्रणमा आयो ।’

करिब ५३ हजार जनसंख्या भएको रंगेलीमा संक्रमण देखिएपछि परीक्षण ब्यापक बनाइएको थियो । थोरै अवधिमा नगरपालिकाले २ हजार १ सय ८६ जनाको पीसीआर जाँच गर्‍यो । जसमा २२२ जनाको पोजेटिभ रिपोर्ट आयो । एकजनाको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आयो ।

रंगेली नगरपालिकाले समुदायमा देखिएको संक्रमण परीक्षण र सतर्कता अपनाएर नियन्त्रणमा लिएको हो । नौ वटा वडा रहेको नगरपालिकाको वडा नम्बर १ मा संक्रमण देखिएन । रंगेली २ मा एकजना, ३ मा २ जना, ४ मा ५ जना, ५ मा १५ जना, ६ मा १५ जना, ७ मा ६१ जना, ८ मा १३ जना, ९ मा १ र रंगेलीबाहिर ठेगाना भएका नौ जनामा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमितमध्ये एकजनाको भने मृत्यु भएको थियो । रंगेली ८ का एक पुरुषको मृत्युपछि संक्रमण पुष्टि भएको थियो ।

Loading...